सुर्खेत । मुगुमा आगलागी हुँदा एउटै घरका दाजुु-बहिनीको मृत्यु भएको छ ।
जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
आगलागीमा परी स्थानीय लालु सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार ती दाजुबहिनी घरभित्रै मृत अवस्थामा फेला परेका थिए । घटनापछि चिकित्सक बोलाइएको थियो ।
गोडेखोला गाउँका स्थानीय लालु सञ्ज्याल, नरदीप सञ्ज्याल र दीपराज सञ्ज्यालको घर पूर्ण रूपमा जलेका छन् । उनीहरूका घर एकआपसमा जोडिएका थिए ।
उनीहरूको गोठभित्र रहेका चौपाया पनि आगलागीमा परी मरेका छन् । खाना पकाउने भान्सा कोठाबाट आगलागी सुरू भएको थियो । तीन वटै घरमा रहेको धनसम्पत्ति, पशु वस्तु, खाद्यान्न पूर्ण रूपमा क्षति भएको छ ।
घटनाको मुचुल्का गर्ने काम भइरहेको र क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया