०८४ को निर्वाचनमा यस्तै परिदृश्य दोहोरिने छैन : विष्णु पौडेल

०८४ को निर्वाचनमा यस्तै परिदृश्य दोहोरिने छैन : विष्णु पौडेल



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ०८४ को निर्वाचनमा यस्तै परिदृश्य दोहोरिने दाबी गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा उनले यो संविधान अनुसार कुनै पनि दलले बहुमत ल्याउन सक्दैनन् भन्ने तर्कमा आफू सहमत नरहेको बताए । ‘कहिल्यै पनि, कुनै पनि दलले बहुमत ल्याउन सक्दैनन् भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘०८४ को निर्वाचनमा यस्तै परिदृश्य दोहोरिने छैनन् । जनताको विश्वास जित्न सक्ने दलहरुले मात्र बहुमत आर्जन गर्न सक्छन् ।’

उपाध्यक्ष पौडेलले संविधानको मर्म अनुसार नै अहिले गठबन्धन परिवर्तन भएको जिकिर गरेका छन् । उनले गठबन्धन परिवर्तन भएर सरकार पुनर्गठन भएकोप्रति नेपाली कांग्रेसमा निकै ठुलो पीडा र छटपटी देखिएको बताए । कांग्रेसलाई लागेको चोटमा आफूहरू मलमपट्टी गर्ने तयार रहेको बताए ।

‘कांग्रेसमा यो तहको पीडा, छटपटी, बेचैनी कांग्रेसले व्यक्त गर्न आवश्यक थिएन,’ उनले भने । दलहरुका बिचमा सहकार्य हुन्छ, दलहरु मिलेर सरकार निर्माण र सञ्चालन गर्छन् भनेर संविधानले नै प्रबन्ध गरेको उनले बताए ।

उनले भने, ‘कि त गठबन्धन बनाउन पाइन्छ तर नेपाली कांग्रेससँग मात्र भनेर लेख्नु पर्‍यो नि संविधानमा ।’ उनले समीकरण परिवर्तन हुने स्वाभाविक संसदीय अभ्यासको रूपमा लिनुपर्ने बताए ।