गुजरातलाई हराउँदै नेपालले जित्यो ‘एसएमएस फ्रेन्डसिप कप’को उपाधि

गुजरातलाई हराउँदै नेपालले जित्यो ‘एसएमएस फ्रेन्डसिप कप’को उपाधि



काठमाडौं । फाइनलमा गुजरात क्रिकेट एसोसियसनविरुद्ध १८ रनको जित निकाल्दै नेपालले ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधि जितेको छ ।

आइतबार भारतको वापीमा सम्पन्न फाइनलमा नेपालले प्रस्तुत गरेको १७७ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले निर्धारित २० ओभरमा आठ विकट गुमाएर १५८ रनमात्र बनाउन सक्यो ।

घरेलु टोली गुजरातलाई लक्ष्यसम्म पुग्न नदिन नेपालका बलर अभिनाष बोहराले तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरीले पनि दुई विकेट हात पारे । कुशल मल्ल र करण केसीले पनि एक-एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

नेपालका कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७४ रन बनाए । ओपनर आसिफ शेख ३४ बलमा २ चौका र १ छक्कासहित ३४ तथा कुशल भुर्तेल २१ बलमा १९ रनमा क्याच आउट भए ।

कुशल मल्ल १३ बलमा २ चौका र २ छक्कासहित ३१ तथा सन्दीप जोरा ७ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए । गुजरातका स्नेह पटेल, तेजास पटेल, जयमीत पटेलले र जाला युवराजसिंहले १–१ विकेट लिए ।

आइसिसी विश्वकप २०२४ को तयारीका लागि भारतको गुजारतमा रहेकाे नेपाली टिम उतैबाट एसिसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम छ । टी-२० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।