रुसमा पक्राउ परेका अमेरिकी पत्रकारविरूद्ध जुन २६ मा सुनुवाई सुरू गरिने

रुसमा पक्राउ परेका अमेरिकी पत्रकारविरूद्ध जुन २६ मा सुनुवाई सुरू गरिने



मस्को । अमेरिकी पत्रकार इभान गेर्शकोभिचविरूद्ध रूसमा जासुसीको आरोपमा जुन २६ देखि सुनुवाइ सुरु हुने युराल्स शहरस्थित येकातेरिनबर्गको एक अदालतले सोमबार जनाएको छ ।

सुनुवाई ‘पहिलो सुनुवाइ’ सन् २०२४ को जुन २६ का लागि तय गरिएको सेभर्ड्लोभ्स्क क्षेत्रीय अदालतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘वाल स्ट्रिट जर्नल’का रिपोर्टरलाई मार्च २०२३ मा येकातेरिनबर्गमा रिपोर्टिङ लागि रूसमा रहेका समय गिरफ्तार गरिएको थियो र त्यसपछि उनलाई मस्कोको लेफोर्टोभो जेलमा राखिएको थियो ।

गत साता रूसी महान्यायाधिवक्ताले उनीमाथि सिआइएका लागि काम गरेको र सेभर्ड्लोभ्स्क क्षेत्रमा ट्यांक निर्माता युराल्भागोन्जाभोडको बारेमा गोप्य सूचना सङ्कलन गरेको आरोप लगाएका थिए ।

संयुक्त राज्य अमेरिकाले आरोपहरूको ‘शून्य विश्वसनीयता’ भएको बताएको छ । वाल स्ट्रिट जर्नलले रूसको घोषणालाई ‘अपमानजनक“ भन्दै आलोचना गरेको छ ।

जर्नलकी मुख्य सम्पादक एम्मा टकर र उच्च अधिकारीहरूले एक विज्ञप्तिमा भनेका छन्, “इभान गेर्शकोभिचले झूटो र आधारहीन आरोपको सामना गर्नुपरेको छ । रूसको पछिल्लो कदम रूस अमेरिकाबीचको प्रतिद्वन्द्विताका कारण अपेक्षित भए पनि निकै निराशाजनक र अपमानजनक छ ।”

मस्कोले यसअघि गेर्शकोभिचविरुद्धको मुद्दाको कुनै पनि सार्वजनिक विवरण उपलब्ध गराएको थिएन र उनी ‘रङ्गेहात पक्राउ परेको’ बताएको थियो ।

गेर्सकोभिच सोभियत कालपछि रुसमा जासुसी गरेको आरोपमा पक्राउ पर्ने पहिलो पश्चिमा पत्रकार बनेका छन् ।

दोषी ठहरिएमा ३२ वर्षीय गेर्सकोभिचलाई २० वर्षको जेल सजाय हुनसक्छ ।