गिरीबन्धुको फाइल खोल्न ओलीलाई विश्वप्रकाशको चुनौती

गिरीबन्धुको फाइल खोल्न ओलीलाई विश्वप्रकाशको चुनौती



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टिस्टेट जग्गा प्रकरणको फाइल खोल्न चुनौती दिएका छन् । बिहिबार महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले आवेगमा आरोप लगाएपछि कांग्रेसले विवेकले जवाफ दिएको बताए ।

‘गिरीबन्धु प्रकरणमा केपी कमरेडले फेरि भन्नुभयो कांग्रेसले ९१ बिघा जग्गा बेचेर कमिसन खायो । त्यो उहाँको आवेगको कुरा हो । उहाँलाई म श्रद्धा गर्छु । तर, प्रश्न गर्ने कुरामा पछि हट्नि ? ०५२ सालमा एमालेकै सरकार हुने, भूमिसुधार मन्त्री एमालेकै हुने ०६० सालको सरकार सूर्यबहादुर थापाको भूमिसुधार मन्त्री कांग्रेस नहुने, ०७८ सालमा त केपी ओलीको सेट नै हुने ।’ उनले भने, ‘अनि गिरीबन्धुको विषयमा यही तीनवटा सरकारमा पालामा निर्णय भएको छ अनि कांग्रेस नै नभएको सरकारको दोष कांग्रेसमाथि लगाउँदा हामी चुप लागेर सहेर बस्नुपर्ने ? आबेगले उहाँले उठाएको प्रश्नमा विवेकले जवाफ दिन कांग्रेस पछि पर्दैन ।’

कांग्रेसले एक टुक्रा जग्गा बेचेर पैसा खाएको देखाउन चुनौती दिँदै उनले भने, ‘म केपी कमरेडलाई भन्छ चाहन्छु यो प्रकरणमा कांग्रेसले एक टुक्रा जग्गा बचेर पैसा खाएको छैन । तपाईं पनि झापाको म पनि झापाको मान्छे, तपाईंहरू सरकारमा हुनुहुन्छ खोल्नुस् गिरीबन्धुको फाइल ।’

कार्यक्रममा नेता डा. शेखर कोइरालाले कांग्रेसबीचमै सबै एक भए अन्य राजनीतिक दलले चुनाव हराउन नसक्ने जिकिर गरेका छन् । उनले घात, अन्तर्घात हुने भयले अन्य राजनीतिक दलबीच गठबन्धन हुने गरेको भएपनि कांग्रेसको बीचमा गठबन्धन गरेको खण्डमा कुनैपनि राजनीतिक दलले हराउन नसक्ने दाबी गरे ।

कोइरालाले भने, ‘घात अन्तर्घात हुन्छ भनेर हामी गठबन्धन गरिरहेका छौं । नेपाली कांग्रेस आफैँ पनि सक्षम छ । हामी हाम्रो बीचमा गठबन्धन गरौं । हामीलाई कुनैपनि शक्तिले हराउन सक्दैन । अन्य दलहरूसँग गठबन्धन गर्नै पर्दैन ।’