नयाँ दलले पुरानालाई सम्मान गरेनन् : प्रधानमन्त्री

नयाँ दलले पुरानालाई सम्मान गरेनन् : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको गुनासो गरेका छन् ।

नेपालमा राजनीतिक दलहरूले दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरूले पुराना दललाई अपमान गरिरहेको उनको आरोप छ ।

शुक्रबार काठमाडौंमा नेपाल बुद्धिजीवी संगठनको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पुराना राजनीतिक दलकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको हुँ भन्ने हेक्का नयाँ राजनीतिक दलहरूले राख्न जरुरी रहेको बताए ।

‘नेपालमा केही पनि छैन, नेपालमा केही पनि हुँदैन, नेपालका पार्टी नेताहरू कोही पनि ठिक छैनन् । त्यसकारण नेपालमा बस्नुभन्दा बाहिर नै जानु ठिक छ भन्ने मनोविज्ञान वा मनोभावना वा त्यसलाई उत्प्रेरित गर्ने कोसिस भइरहेको छ । सच्चाइ त्यही बिल्कुल होइन,’ उनले भने ।

‘अहिले केही नयाँ नयाँ मानिसहरू हामी नयाँ, हामीले गर्छौं भन्ने ठाउँ दिएको पनि तीनै ठूला पार्टीहरुको त्याग, तपस्या र बलिदान हो । नयाँ आउनेलाई मैले आलोचना गर्न खोजेको होइन, पुराना पार्टीहरूले लामो संघर्ष, जेलनेल, यातना, भूमिगत यो सबै गरेर नलडेको भए लाकतान्त्रिक गणतन्त्र र ती नयाँ मान्छेहरु आउने वातावरण बन्न सम्भव थियो त ? बिल्कुल थिएन ।’ उनले भने । ‘उनीहरूले त पुरानाहरुलाई सम्मान गर्नुपर्ने, तपाईंहरुको त्याग र बलिदानको परिणाम हामी जस्ताले पनि अहिले अवसर पायौं भनेर प्रशंसा गर्नुपर्ने ठाउँमा आफूलाई जन्म दिने बाउआमालाई गाली गरेको जस्तै लाजमर्दो लाग्छ नि ! आमा बाउलाई, बुढाबुढीलाई त सम्मान पो गर्नुपर्छ । तीनलाई अपमान गर्ने प्रवृत्ति देखापर्न खोजेको छ, यो प्रतिकात्मक रूपमा मैले भनेको हुँ ।’

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलभित्रका समस्या पनि आफूले सम्बोधन गर्नेगरी काम गरिरहेको दाबी गरे । जीवनको उत्तरार्द्धतिर पनि आफू जनयुद्धकालको भन्दा बढी खटेर काम गरिरहेको भन्दै उनले अहिलेको भन्दा जनयुद्धमा आफ्नो जीवन सरल रहेको बताए ।