काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ । न्यायाधीशद्धय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा पेशी रहेको मुद्दामा शुक्रबार बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हाे ।
सर्वोच्चले अर्को पेसी असार १६ गतेका लागि तोकेको छ ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटमा शुक्रबार रिट निवेदक र सरकारी वकिलको मात्र बहस सकिएको छ । लामिछानेका तर्फबाट बहसका लागि समय नपुगेको र जवाफ पनि बाँकी रहेकाले अर्को दिन असार १६ गते पेसी तोकिएको सर्वोच्चका प्रवक्ता गोविन्द घिमिरेले बताए ।
शुक्रबार रिट निवेदकका तर्फबाट अधिवक्ता अनुपम भट्टराई, रमण कर्ण वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी लगायतले बहस गरेका थिए । उनीहरूको बहसपछि सरकारका तर्फबाट नायब महान्यायाधीवक्ता टेकप्रसाद घिमिरे, सहन्यायाधीवक्ता सूर्य दाहाल लगायतले बहस गरेका थिए ।
महान्यायाधीवक्ता कार्यालय गृहमन्त्री लामिछानेलाई क्लिनचिट देखिने गरी कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि अधिवक्ता भट्टराईले रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दरपिठ भएको थियो । पछि न्यायाधीश टेकनारायण ढुङ्गानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुन दर्ता भएको थियो ।
रिटमाथि पहिलो सुनुवाई गर्दै सर्वोच्चले पोखरादेखि रुपन्देहीसम्म जाहेरी दर्ता तथा अभियोग पत्रसम्म मगाउने आदेश गरेको थियो । त्यस्तै सर्वोच्चमा पोखराको सूर्य दर्शन र बुटवलको सुप्रिम सहकारी ठगी बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले गरेको अध्ययन प्रतिवेदन समेत पेस भइसकेको छ ।


प्रतिक्रिया