काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीद्वारा दायर रिटमा आज फैसला आउन सक्ने बताइएको छ । हिजो सोमबार बहस नसकिएपछि ‘हेर्दाहेर्दैमा’ राखिएको थियो । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा भइरहेको बहसमा रिट निवेदकले जवाफ दिन बाँकी छ ।
सरकारका तर्फबाट कानुन व्यवसायीहरुले बहस गरिरहँदा न्यायाधीशहरूले पटकपटक संविधान सम्मत भयो कि भएन ? प्रदेश प्रमुखलाई मुख्यमन्त्री हटाएर नयाँ नियुक्ति गर्ने अधिकार छ कि छैन र विश्वासको मत लिने कार्य र संकल्प प्रस्ताव एउटै हुने कानुनी आधार के हो भनी प्रश्न गरेका थिए ।
हिजो सोमबार मुख्यमन्त्री हिक्मतबहादुर कार्कीका तर्फबाट अधिवक्ताहरू रमण श्रेष्ठ, रमेश बडाल, प्रकाश केसी, टीकाराम भट्टराई, माधव बस्नेत, भिर्माजुन आचार्य, हर्कसिंह रावललगायतले बहस गरेका थिए । मुख्यमन्त्री कार्कीका तर्फबाट बहस सकिएपछि रिट निवेदकका तर्फबाट जवाफी बहसका लागि एक घण्टाको समय मागिएपछि सुनुवाइ हेर्दाहेर्दैमा आज मंगलबारका लागि राखिएको हो ।


प्रतिक्रिया