काठमाडौं । पछिल्लो सत्ता समीकरणले धमिलएको प्रदेश राजनीति विस्तारै संलिग्दैछ । अब कोशी सरकार पुनर्गठन र सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन भएपछि प्रदेश राजनीतिले नयाँ कोर्ष लिने अनुमान गरिएको छ । कांग्रेसको भागमा परेको तीनवटा प्रदेशमध्ये सुदूरपश्चिममा मात्र सरकार गठन हुन बाँकी छ ।
बागमति प्रदेशमा सरकारको नेतृत्व गर्न पहिलो पटक अवसर पाएको कांग्रेसले अरुलाई रमिता हेर्ने गरी तमासा देखाएको छ । कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाको निर्णय क्षमतामा प्रश्न उठेपछि अन्य राजनीतिक दलले यो रमिता हेर्न अवसर पाएका हुन् ।
नेताका आदेशमा मन्त्री नियुक्त गर्ने र सपथ नै नगराई विदा दिने मात्र होइन, मन्त्रालयभन्दा बढी मन्त्री नियुक्त गरेर मुख्यमन्त्री लामाले जग हसाउने काम गरेको एकजना सांसदले नाम उल्लेख नगर्ने सर्तमा भने । २०–२० महिना एमालेसँग आलोपालो मुख्यमन्त्री चलाउने सहमति गरेका मुख्यमन्त्री लामाले ६ जना मन्त्री नियुक्त गर्नुपर्नेमा ८ जना गरेका थिए । एकजनालाई सपथ नै नगराइ विदा दिए भने एकजनाको मन्त्रालय टुंगो लागेको छैन ।
केन्द्रीय नेताको कोटा पुर्याउनु परेकाले मुख्यमन्त्री लामा अप्ठ्यारामा परेका हुन्, ती सांसदले भने, ‘कसैले धम्क्याएर, घुर्काएर रोजेर मन्त्रालय लिए भने मदुकुमार श्रेष्ठले मन्त्रीको सपथ लिए पनि जिम्मेवारी पाउन सकेका छैनन् । कुनै एउटा मन्त्रालय नफुटाइ उनलाई भाग पुग्ने छैन ।’
सुरुमा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका कुन्दन काफ्लेले आफूलाई आर्थिक मामिला तथा योजना मन्त्री नबनाए मन्त्री पद नलिने धम्की दिएका थिए । लामालाई संसदीय दलको निर्वाचनमा सहयोग गरेका काफ्लेको घुर्की अघि मुख्यमन्त्री नतमस्तक बन्न पुगे । अन्ततः काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाउन मुख्यमन्त्री लामा बाध्य भएका हुन् ।
समाचारस्रोतका अनुसार नेताको आदेशमा मन्त्री बनाउन मुख्यमन्त्री लामा बाध्य हुँदा यो परिस्थिति सिर्जना भएको हो । कांग्रेस बागमति प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले प्रभात लामा र मीनकृष्ण महर्जनको नाम सिफारिस गरेका थिए । मुख्यमन्त्री लामाले सुरुमा दुवैलाई मन्त्री नियुक्त गरेका थिए । तर पछिल्लो समय प्रभात लामालाई सपथ अघि नै विदाइ गर्नुपरेको थियो । डन शैलीका मीनकृष्ण महर्जनलाई भने उनले हटाउन सकेनन् । महर्जनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिए । यदि मुख्यमन्त्री लामाले सक्ने भए महर्जनलाई हटाएर मदुकुमार श्रेष्ठलाई उक्त मन्त्रालयको जिम्मेवारी दिन्थे ।
पार्टी संस्थापनपक्षबाट डा. प्रकाशशरण महत र महालक्ष्मी (डिना) उपाध्याय बागमति प्रदेश सरकार बनाउन खटिएका थिए । उनीहरुले आधा हिस्सा अर्थात् ३ मन्त्रालय संस्थापनको हुनुपर्ने माग गरेका थिए । श्यामबहादुर खड्का, बिमल ठकुरी र मदुकुमार श्रेष्ठको नाम उनीहरुले सिफारिस गरेर पठाएका थिए । खड्कालाई खानेपानी, ऊर्जा र सिँचाइ मन्त्रालय र ठकुरीलाई संस्कृति, पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिए पनि श्रेष्ठ आजको मितिसम्म जिम्मेवारीविहिन छन् । पार्टी सहमहामन्त्री डिना उपाध्यायको आदेश नर्कान सक्ने अवस्थामा मुख्यमन्त्री लामा छैनन् ।
सिटौला समूहबाट संसदीय दलको निर्वाचनमा सहयोग गरेको नाताले कुन्दन काफ्लेले रोजेको मन्त्रालय लिए । बागमति कांग्रेस राजनीति होल्ड गरेका प्रकाशमान सिंहको सिफारिसमा हरिप्रभा खड्गी सामाजिक विकास मन्त्री बनिन् । महामन्त्री गगन थापाको सिफारिसमा सुरजचन्द्र लामिछाने आन्तरिक मामिला तथा कानुन मन्त्री बनेको बताइएको छ । कुनै एउटा मन्त्रालय फुटाएर श्रेष्ठलाई पनि एडजस्ट गर्ने तयारीमा मुख्यमन्त्री लामा लागेको बुझिएको छ ।
प्रतिक्रिया