जुम्लाको तिला गाउँपालिकामा भदौ ५ गतेभन्दा अघि स्याउ नटिप्न आग्रह

जुम्लाको तिला गाउँपालिकामा भदौ ५ गतेभन्दा अघि स्याउ नटिप्न आग्रह



जुम्ला । तिला गाउँपालिकाले स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आउँदो भदौ ५ गतेपछि मात्र स्याउ सङ्कलन तथा निकासी गर्न आग्रह गरेको छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयले वडा नम्बर १ देखि ९ सम्मका सबै स्याउ बगैँचा धनी र व्यापारीलाई भदौ ५ गतेभन्दा अघि स्याउ नटिप्न र निर्यात नगर्न अनुरोध गरेको हो ।

पालिकाले जुम्लाबाट सुर्खेत, नेपालगञ्ज, बुटवल, नारायणगढ, काठमाण्डाै हुँदै देशका विभिन्न जिल्लाका सहरमा भदौ पहिलो हप्ता अगावै निर्यात गर्न नदिने निर्णय गरेको अध्यक्ष मोतिलाल रोकायले जानकारी दिए ।

उनले भदौअघि नै टिप्न थाल्यो भने स्याउ परिपक्व नहुने, रङ नभरिने, उपभोक्ताले आवश्यक स्वाद प्राप्त नगर्ने, काँचो स्याउले जुम्ली जैविक स्याउको कुप्रचार भएर बदनाम हुने तथा किसानले सोचेको मूल्य पनि नपाउने भएर तोकिएको मितिभन्दा अगाडि स्याउ सङ्कलन तथा निकासी गर्न रोक लगाइएको बताए ।

उनका अनुसार भदौ ५ गतेपछि पालिकाको कृषि शाखा र सम्बन्धित वडाको सिफारिस लिएर मात्र स्याउ निकासी गर्न सार्वजनिक सूचनामार्फत सरोकारवालालाई जानकारी गराइएको छ ।