काठमाडौं । कारोबार भइरहँदा १२:३७ बजे २८०५ अंकसम्म पुगेको सेयर बजार अन्ततः २७४७ अंकमा झरेर बन्द भएको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.९३ अंक घटेको हो । परिसूचक घट्दा पनि कारोबार रकम उल्लेख्य छ । अघिल्लो दिन २१ अर्ब ९१ करोडको कारोबार भएर उच्च रेकर्ड बनेको थियो । यस दिन भने २१ अर्ब ७१ करोडको कारोबार भयो ।
आज फाइनान्स, होटल, लगानी, बीमा र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार, उत्पादन, जलविद्युत् समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।
आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन ६ वटा कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज तीन सय ३२ वटा कम्पनीका पाँच करोड १३ लाख कित्ता शेयर २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ । हिजो एकैदिन २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएर ऐतिहासिक रेकर्ड कायम भएको थियो ।
प्रतिक्रिया