बाँके । बाँके राष्ट्रिय निकुञ्जको टोलीले जिल्लाको राप्तीसोनारी गाउँपालिका ८ स्थित एक विद्यालयबाट नेपालमा कमै मात्रामा पाइने रातो सर्पको उद्धार गरेको छ ।
राप्तीसोनारी गाउँपालिका वडा ८ पेरानीस्थित एक विद्यालयको कक्षा कोठाबाट कमै मात्रामा पाइने कोरल रेड कुक्री प्रजातिको सर्पलाई उद्धार गरिएको निकुञ्जका रेन्जर यामबहादुर रावतले जानकारी दिए ।
उनका अनुसार यो प्रजातिको सर्प भारत र नेपालका केही स्थानहरूमा मात्र पाइने गरेको छ । दुर्लभ नै नभए पनि अत्यन्त कम मात्रामा पाइने यो सर्प विशेष गरेर नरम माटोभित्र लुकेर बस्ने गरेको पाइएको रावतले जानकारी दिए ।
रेन्जर रावतकाअनुसार नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्जमा यसअघि यो प्रजातिको सर्प पाइएको थियो । बाँकेमा पनि दुई वर्षअघि निकुञ्जकै कम्पाउन्डभित्र पाइएको थियो ।
अन्य सर्पभन्दा कमै मात्रामा पाइने यो सर्प मन्द विषालु भएको उनले जानकारी दिए । झट्ट हेर्दा यो सर्पको टाउकोबाट स्पष्ट घाँटी छुट्टिएको देखिँदैन । त्यसैगरी आजै राप्तीसोनारी ८ ओभरीबाट एउटा गोमन सर्पसमेत उद्धार गरिएको रेन्जर रावतले जानकारी दिए ।
उद्धार गरेर ल्याइएका सर्पहरूलाई निकुञ्जको जङ्गल क्षेत्र भित्र लगेर व्यवस्थापन गर्दै आएको उनले बताए ।
प्रतिक्रिया