लोमान्थाङमा पनि हुन थाल्यो स्याउ खेती

लोमान्थाङमा पनि हुन थाल्यो स्याउ खेती



मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीस्थित जनशान्ति माध्यमिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौडेल बिदामा घर जाँदा म्याग्दीको सिमाना घाँसाबाट कोशेली स्याउ किनेर लैजाने गर्थ्ये । उनका अनुसार कागबेनीमा छिटपुट रूपमा मात्रै स्याउ उत्पादन हुन्थ्यो ।

‘तत्कालीन समयमा बोकेर लैजानुपर्ने भएकाले सबैभन्दा तल पर्ने लेते–घाँसामा बोटबाट आफैँले टिपेर घर जाँदा स्याउ लैजाने गरिन्थ्यो,’ उनले तीन दशकअघिको स्मरण गरे, ‘अहिले घाँसा, लेतेमा स्याउको बगैँचा नै छैन । उपल्लो क्षेत्रमा पर्ने लोमान्थाङमा स्याउ फल्न थालेको छ ।’ दशकअघिसम्म जोमसोम र मार्फाबाट स्याउ किनेर लैजाने लोघेकर दामोदरकुण्ड गाउँपालिका–४, घाराकी छेमा गुरुङले तीन हजार नौ सय मिटर उचाइमा अवस्थित घारा गाउँको बगैँचामा स्याउ फलाउन थालेकी छिन् ।

‘पहिले धेरै स्याहार सुसार र मिहिनेत गरे पनि स्याउ फल्ने गरेको थिएन,’ उनले भनिन्, ‘तापक्रम बढ्न थालेपछि र मौसममा आएको परिवर्तनका कारण अहिले घारामा पनि सजिलै स्याउ फल्न थालेको छ ।’ मुस्ताङको मौसम र तापक्रममा आएको परिवर्तनको असर प्रमुख कृषिबाली स्याउ खेतीमा पनि देखिएको कृषक र प्राविधिकहरूले बताएका छन् । तल्लो क्षेत्रमा नासिदै गएको स्याउ खेती माथिल्लो भेगमा फैलिँदै गएको छ ।

थासाङ गाउँपालिका–२, कोवाङका कृषक जीवन थकालीले तापक्रम वृद्धि र नयाँ रोग देखिन थालेपछि स्याउखेतीमा चुनौती सिर्जना भएको बताए । ‘पहिलेको तुलनामा धेरै पानी पर्ने, सिजनमा हिउँ नपर्ने, बेसिजनमा हिउँ पर्ने र कम फल लाग्ने समस्या देखिएको छ,’ उनले भने, ‘बगैँचा व्यवस्थापन, सिँचाइ र किराबाट बचाएर स्याउ खेतीलाई निरन्तरता दिएका छौँ ।’

कोवाङ क्षेत्रको बगैँचाको स्याउमा दादे रोग चुनौतीका रूपमा देखिएको थकालीले बताए । स्याउ खेती हुन छाडेपछि लेते, कुञ्जो, कोवाङ, घासाँका कृषकहरूले विकल्पमा ओखर खेती गर्न थालेका छन् । जोमसोमदेखि तल्लो भेगमा अत्यधिक स्याउ खेती हुने भएकाले २०२३ सालमा सरकारले मार्फामा शीतोष्ण बागबानी विकास केन्द्र स्थापना गरेको थियो ।

स्याउलगायत हिमाली फलफूल, तरकारी र खाद्यबालीको अध्ययन, जैविकीय गुणको संरक्षण र बीउको विकास गर्दै आएको केन्द्रका प्रमुख पद्‌मनाथ आत्रेयले मुस्ताङमा स्याउ खेती उकालो चढ्दै गएको बताए । ‘सैद्धान्तिक हिसाबले सामुद्रिक सतहदेखि दुई हजारदेखि तीन हजार मिटरको उचाइको भूगोलमा स्याउ खेती हुनुपर्ने हो,’ उनले भने, ‘दुई हजार मिटर उचाइको भूगोलमा स्याउ खेती नासिएको छ । चार हजार मिटरको उचाइमा स्याउ उत्पादन हुन थालेको छ ।’

स्याउको परागशेचनका लागि चिसो हावापानी र मौसम आवश्यक पर्छ । उच्च गुणस्तरको जातका स्याउ परागशेचन हुन एक हजारदेखि एक हजार छ सय घण्टा सात डिग्रीभन्दा कम तापक्रम आवश्यक पर्छ । मध्यम गुणस्तरको स्याउलाई छ सयदेखि एक हजार घण्टा र कम गुणस्तरको स्याउको परागशेचनका लागि चार सयदेखि छ सय घण्टासम्म सात डिग्री भन्दा कम तापक्रम आवश्यक पर्छ । स्याउको परागशेचन हुने समयमा तल्लो मुस्ताङको तापक्रम न्यूनतम १६ देखि अधिकतम २१ डिग्री हुँदा गत वर्ष उत्पादन ४० प्रतिशतले घटेको थियो ।

चालिस प्रजातिका स्याउको संरक्षण गरिरहेको केन्द्रले तापक्रम प्रतिकूल हुन थालेपछि उपल्लो मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिका–२, घमीमा बागबानी फार्मको शाखा स्थापनाको तयारी गरेको केन्द्रका प्रमुख आत्रेयले बताए । ‘जलवायु परिवर्तनको सामना गर्दै स्याउको जिन संरक्षणका लागि माथिल्लो क्षेत्रमा शाखा कार्यालय खोल्नुपर्ने अवस्था आएको हो,’ आत्रेयले भने, ‘स्थानीयले पनि स्याउ खेती गरिरहेको घमीको भूगोल र हावापानी उपयुक्त देखिएकाले जग्गा प्राप्तिको प्रक्रिया अघि बढाएका हौँ ।’

NepatopDAV
तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण खेती हुने भूगोल फेरिनुका साथै स्याउ छिटो पाक्न थालेको छ । पहिले असोज लागेपछि गुलीयो पस्ने गरेकोमा यसपालि गर्मी धेरै भएकाले भदौको दोस्रो हप्तामै खानयोग्य भएको घरपझोङ गाउँपालिका–२, मार्फाका ७९ वर्षीय लालप्रसाद हिराचनले बताए । ‘पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो,’ उनले भने, ‘यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ । स्याउ पनि १५–२० दिनअघि नै पाक्न थालेको छ ।’

मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालयका निमित्त वरिष्ठ कृषि अधिकृत नेत्र भट्टले गत हिउँदमा लामो समयसम्म चिसो नरहेको र तापक्रम छिटो बढेकाले केही जातका स्याउ पाकेको बताए । ‘उच्च घनन्वको गाला र रिङरोट जातको स्याउ स्थानीय जातको भन्दा छिटो पाक्छन्,’ उनले भने, ‘स्थानीय जातको स्याउमा पनि गुलियोपन नाप्दा विगतको तुलनामा केही समयअघि पाकेको पाइयो ।’

उपकरणको सहायताले स्याउको गुलियोपन नापिन्छ । गुलियोपनको मात्र १२ प्रतिशत भएपछि स्याउ टिप्न योग्य हुन्छ । दानाभित्रको गेडा कालो भयो भने पनि स्याउ पाकेको मानिन्छ । उच्च घनत्वको गाला प्रजातिका स्याउ १० भदौ र रिङरोट जातको स्याउ १५ भदौदेखि नै टिप्न थालिएको थियो । स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ १ असोजदेखि टिपेर बजार पठाउन थालिएको छ । अनुकूल मौसम, बगैँचा व्यवस्थापन, रोगको समस्या कम देखिएकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताए । गत वर्षका तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए ।

मुस्ताङको एक हजार ४७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा ५८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर क्षेत्रफल जमिनमा इटालीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती भएको छ । गत वर्ष चार हजार ९७५ मेट्रिक्टन स्याउ उत्पादन भएको र ४९ करोड २५ लाख बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । मुस्ताङ घुम्न आउने पर्यटकहरूले पनि कोशेलीका रूपमा स्याउ किनेर लैजाने गर्छन् । बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुकुटी बनाउन प्रयोग हुन्छ ।