माओवादी द्वन्द्वकालमा हिंसा मात्र भएन, राष्ट्रमा आतंक सिर्जना भयाे : महासचिव पोखरेल

माओवादी द्वन्द्वकालमा हिंसा मात्र भएन, राष्ट्रमा आतंक सिर्जना भयाे : महासचिव पोखरेल

रवि लामिछानेले सहकारी प्रकरणको अनुसन्धान नै अवरुद्ध गर्न खोजे



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाट बाहिरिनुपर्दा प्रचण्डमा आएको छटपटीले राष्ट्रिय राजनीतिलाई तनावपूर्ण बनाएको टिप्पणी गरेका छन् ।

बुधबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले सत्ता गुमाएको कुण्ठामा माओवादीले संसद अवरुद्ध गरेको समेत बताए । ‘सरकार गठन भएको १०० दिन नपुग्दै उहाँले संसदमा जुन अभिव्यक्ति दिनुभयो, त्यो पूर्णत असंसदीय र अराजनीतिक थियो’, उनले भने, ‘त्यही अभिव्यक्तिका कारण संसदभित्रै गतिरोध उत्पन्न भयो ।’

माओवादी द्वन्द्वकालमा भएको हिंसाको आलोचना गर्दा हिंसा शब्द असंसदीय हो भनेर माओवादीले संसद रोकेको उनले बताए । तर माओवादी द्वन्द्वकालमा हिंसा मात्र भएन, राष्ट्रमा आतंक सिर्जना गर्ने काम भएको उनले बताए । ‘दिनदहाडै बसमा आगजनी गर्ने, राति घरमा सुतेका एउटै घरमा ११ जनाको हत्या गर्ने काम भयो’, उनले भने, यो हिंसा मात्र होइन, आतंक पनि हो ।’

यद्यपि माओवादी कार्यकर्ताको वलिदान समाजको परिवर्तनका लागि भएको र त्यसको आफूहरुले प्रशंसा नै गर्ने गरेको उनले बताए । त्यही क्रममा गलत तत्वहरुले हिंसात्मक क्रियाकलाप पनि गरेको भन्दै उनले भने, ‘हिंसाको विरोध गर्नु अराजनीतिक पनि होइन, असंसदीय पनि होइन ।’

सत्य निरुपण आयोग गठन गर्ने क्रममा माओवादी स्वयंले यसलाई स्वीकार गरिसकेको एमाले महासचिव पोखरेलले बताए ।

लामिछानेले सहकारी प्रकरणको अनुसन्धान नै अवरुद्ध गर्न खोजे

महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीबाट गोर्खा मिडियामा आएको रकम र त्यसको परिचालनबारे अनुसन्धान गर्न रोक्ने गतिविधि गरेको बताएका छन् । तर साझेदारमध्ये एक छविलाल जोशी पक्राउ परिसकेको र उनले दिने बयानका आधारमा अनसन्धान अगाडि बढ्ने उनले बताए ।

उनले रास्वपा र त्यसका सभापति लामिछानेले पनि अनुसन्धानमा निःशर्त सहयोग गर्नुपर्ने बताए । ‘अनुसन्धानलाई नै रोक्ने गरी जुन प्रकारका गतिविधि भइरहेको छ, यो कानुनी राज्यमाथिको उपहास हो,’ उनले भने, ‘कुनै पनि राजनीतिक दल र नेतृत्वले अभियोग लाग्दा अनुसन्धानमा सहयोग गर्नुपर्छ ।’

‘जनताका बीचमा सुशासनका ठूला कुरा गरेर दल खडा गर्ने, आफूमाथि उठेका प्रश्नको सन्दर्भमा अनुसन्धान प्रक्रियामा जान नमान्ने कुनै अर्थमा उचित होइन’ उनले अगाडि भने ।

अभियोग कति गम्भीर छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताले समेत बुझ्नुपर्ने उनले बताए । एउटा कम्पनी खडा गरेर टेलिभिजन सञ्चालनका लागि प्राप्त गरेको समग्र पैसा (झण्डै ६५ करोड) सहकारीमार्फत प्राप्त गरेको र सहकारीले कम्पनीमा लगानी गर्न नमिल्ने कानुन रहेको यो पक्षलाई बुझ्नुपर्छ’ पोखरेलले भने, ‘कानुन विपरीत सहकारीको पैसा ल्याएर टेलिभिजन सञ्चालन गर्नु अत्यन्त हानिकारक छ ।’

उनले संकटमा पुर्‍याउने व्यक्तिले म निर्दोष छु, क्लिन चिट पाएँ भनेर घोषणा गर्नु अनुचित भएको समेत बताए ।

एमाले महासचिव पोखरेलले भने, ‘क्लिनचिट त्यतिबेला प्राप्त हुन्छ, जतिबेला अनुसन्धानको प्रक्रियामा प्रवेश गरेर अदालतबाट सफाइ प्राप्त हुन्छ । त्योभन्दा पहिला हल्ला गरेको भरमा क्लिन चिट प्राप्त हुँदैन ।’ सहकारी छानबिन संसदीय समितिले कानुनसम्मत कारबाही गर भनेको विषयलाई क्लिन चिट भनेर प्रचार गर्नु गलत भएको उनले बताए ।

फरार अभियुक्तबाट विषयवस्तु प्राप्त हुन त सम्भव नभएकाले जो उपलब्ध छ, उसैबाट प्रक्रिया सुरू भएको पोखरेलले बताए ।

‘मलाई लाग्छ, छविलाल जोशी एक जना साझेदार, बीचमा कुरा नमिलेपछि साझेदारीबाट बाहिरिएका थिए । उनैबाट अनुसन्धानको प्रक्रिया सुरू हुँदैछ । सत्यतथ्य त्यसले उजागर गर्छ । त्यसपछि अनुसन्धान प्रक्रिया रोकिन होइन, अगाडि बढ्छ । कतिबेला अगाडि बढ्छ, भन्ने नेपाल प्रहरीको विषय हो । राज्यलेचाहिँ सम्बन्धित निकायलाई अनुसन्धानको जिम्मा दिएपछि, कतिबेला कसलाई बोलाएर अनुसन्धान गर्ने भन्ने विषय नेपाल प्रहरीको हो। त्यसमा राज्यले चासो राख्ने वा हस्तक्षेप गर्ने भन्ने कुरा आउँदैन,’ उनले भने ।