सुनसरीमा किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’

सुनसरीमा किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’



इनरुवा (सुनसरी) । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका थिए । उनले तीमध्ये करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गरेका थिए । उनले भने, “दसैँ अगाडि नै धान भित्र्याउने सोच बनाएको थिएँ । आफूलाई खान पुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी गरेको थिएँ । यसबाट आएको आम्दानीबाट दसैँ मनाउने सोच थियो ।”

यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पुर्‍याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन । उनले भने, “बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ ।”

यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा रु ४० हजार खर्च गरेका थिए । उनले भने, “बाढीले भित्र्याउने बेलामा भएको धानबालीमा धेरै नै क्षति भयो । यसपटक दसैँ दशा भएर आयो । ”

बाढीका कारणले जिल्लाको धानबालीमा धेरै क्षति भएको छ । धानखेतीका लागि किसानले प्रतिबिघा रु. ३० हजारदेखि ४० हजार खर्च गर्दै आएका जनाइएको छ ।

धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो रही आएको छ । जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आँकल एवम् तथ्याङ्क सङ्कलन जारी छ । कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख नीलकमल सिंहले बाढीले एक सय ९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । उनले बाढीबाट रु. दुई करोड ५० लाख बराबारको धान नोक्सानी भएको बताए । उनले भने, “बाढीबाट धानखेतीमा भएको क्षतिको तथ्याङ्क आउने क्रम जारी छ ।”