भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेट

भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेट



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रूस पुगेको मोदीले पुटिनसँग मंगलबार द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा भारतीय प्रधानमन्त्री मोदीले पुटिनसँग रूस–युक्रेनबीच जारी युद्धबारे कुराकानी गरेको बीबीसीको हिन्दी अनलाइन संस्करणले जनाएको छ ।

‘रूस र युक्रेनबीच जारी संघर्षको विषयमा हामी लगातार सम्पर्कमा छौँ,’ मोदीले पुटिनसँग भने, ‘समस्याको समाधान शान्तिपूर्ण तरिकाले हुनुपर्छ भन्ने हाम्रो मान्यता रहिआएको छ ।’

जवाफमा रूसी राष्ट्रपति पुटिनले गत जुलाईमा भएको भेटका क्रममा भएको कुराकानी र टेलिफोनमा गरिएको कुराकानी आफूलाई स्मरण रहेको बताए ।

‘मलाई जुलाई महीनामा भएको भेटको याद छ । हामीबीच धेरै राम्रो कुराकानी भएको थियो,’ उनले भारतीय प्रधानमन्त्री मोदीसँग भने, ‘हामीले टेलिफोनमा पनि कयौँपल्ट कुरा गरेका छौँ । कजान आउने आमन्त्रण स्वीकार गर्नुभयो, आभारी छु ।’

मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि गत जुलाई ८ मा पहिलोपल्ट रुस गएका थिए । यसपल्ट उनी १६ औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन पुटिनको निमन्त्रणमा रूस गएका हुन् ।