अस्ट्रेलियामा मानव शोषणविरुद्ध लड्न विशेष सङ्घीय प्रहरी परिचालन

अस्ट्रेलियामा मानव शोषणविरुद्ध लड्न विशेष सङ्घीय प्रहरी परिचालन



काठमाडौं । बढ्दो मानव बेचबिखन र शोषणविरुद्ध लड्न अस्ट्रेलियाली सङ्घीय प्रहरी (एएफपी) ले विशेष अधिकारीहरूलाई देशभरका समुदायहरूमा खटाएको छ ।

नयाँ मानव शोषण सामुदायिक अधिकारीहरूले मानव बेचबिखन र अनलाइन बाल यौन शोषण रोक्नका लागि जोखिममा परेका समुदायहरूलाई लक्षित शिक्षा प्रदान गर्ने एएफपीले जनाएको छ ।

अस्ट्रेलियामा गएको आर्थिक वर्षमा दासत्व, जबरजस्ती विवाह र जबरजस्ती श्रमसहित मानव बेचबिखनका तीन सय ८२ वटा घटना भएका थिए । जुन ३० मा सकिएको आर्थिक वर्ष २०२३/२४ मा यी घटना भएका हुन् ।

एएफपीको नेतृत्वमा रहेको एउटा समितिले देशमा आर्थिक वर्ष २०२२/२३ मा ४० हजार २ सय ३२ र २०२३/२४ मा ५८ हजार ५ सय बढी अनलाइन बाल यौन शोषणका घटना दर्ता भएको जनाएको छ ।

समस्या बढ्दै गएपछि विशेष टोली नै परिचालन गरेको अस्ट्रेलियाली सङ्घीय प्रहरीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।