अदालतले छोड्न आदेश दिए रवि लामिछानेलाई पुनः पक्राउ गरी बुटवल लगिने

अदालतले छोड्न आदेश दिए रवि लामिछानेलाई पुनः पक्राउ गरी बुटवल लगिने


ग्लोब नेपाल
702
Shares

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखराबाट बुटवल लैजाने प्रहरीले तयारी गरेको छ । लामिछानेलाई मंगलबार म्याद थप नभए रुपन्देही लैजाने तयारी रहेको कास्की प्रहरीले जनाएको छ ।

भाेलि मंगलबार म्याद थप भएमा भने छठपछि उनलाई रुपन्देही लगिनेछ । रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले मंगलबार वा छठलगत्तै लामिछानेलाई पोखराबाट ल्याइने बताए ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् । कास्की प्रहरीले पछिल्लोपटक १४ कात्तिकसम्मका लागि थुनामा राखेर लामिछानेमाथि अनुसन्धान गर्न अनुमति लिएको थियो । बीचमा तिहारको सार्वजनिक बिदा भएकाले लामिछाने हिरासतमै छन् ।

रूपन्देही प्रहरीले तिहारअघि नै लामिछानेलाई बुटवल पठाइदिन कास्की प्रहरीलाई पत्राचार गरेको थियो । कास्की प्रहरीले भने मंगलबार उनलाई तेश्रोपटक म्याद थपका लागि अदालतमा उपस्थित गराउँदैछ । यदि अदालतले म्याद थप नगरी धरौटीमा रिहा गरेको अवस्थामा लामिछानेलाई तत्काल पक्राउ गरी रुपन्देही ल्याइने राठौरले बताए । ‘कास्की जिल्ला अदालतले म्याद थप गरेन भने उहाँलाई हामी अदालतबाटै नियन्त्रणमा लिएर यता ल्याउँछौं’,राठौरले भने ।

लामिछानेमाथि गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक भएका बेला बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारीको १४ करोड २९ लाख रुपैयाँ गैरकानूनी रुपमा अपचलन गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले ८ कात्तिकमा पक्राउ पुर्जी जारी गरेको छ । सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रुपैयाँ लामिछानेको नाममा गोर्खा मिडियामा गएको दाबी प्रहरीको छ ।

कास्की प्रहरीकै हिरासतमा रहेका गोर्खा मिडिया नेटवर्कका सञ्चालक नेपाल प्रहरीका पूर्वडिआईजी छविलाल जोशीलाई भने यसअघि नै बुटवल लगिएको थियो ।

लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले गत २ कात्तिकमा संगठित अपराध र सहकारी ठगी कसुरमा अनुसन्धानका लागि पक्राउ गरी सोही राति काठमाडौंबाट पोखरा लगेको थियो ।