रुपन्देहीका सहकारी पीडित आन्दोलनमा

रुपन्देहीका सहकारी पीडित आन्दोलनमा



बुटवल । रुपन्देहीका सहकारी पीडितहरूले आन्दोलन गरेका छन् । बुटवलको सुप्रिम सहकारीका पीडितले भैरहवाको बर्मलि टोलमा प्रदर्शन गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान चलिरहँदा उनीहरुले बाहिर आन्दोलन गरेका हुन् ।

रकम फिर्ता गर, दोषीलाई कारबाही गर जस्ता नारा लगाएर सहकारी पीडितले आन्दोलन थालेका हुन् । सहकारी पीडित संघर्ष समिति संयोजक विजय नेपालले पीडितहरूको आन्दोलन जारी रहेको बताए । उनले राज्यले जो दोषी भएपनि कारबाही गर्नुपर्ने बताए ।

बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।