काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आउँदो महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारी गरिरहेका छन् । कांग्रेसमा कोइराला परिवारको विरासत बोकेका शेखरले भद्र नेताको परिचय बनाएका छन् । विधानतः वर्तमान सभापति शेरबहादुर देउवा सभापतिको आकांक्षी बन्न नपाउने भएपछि शेखरको उम्मेदवारीले दोस्रो तहका नेताहरु दुई समूहमा विभाजित बनेका छन् ।
सभापति देउवा समूहका नेताहरु जो महामन्त्री गगन थापालाई सभापति स्वीकार गर्दैनन् उनीहरु यतिबेला शेखरसँग नजिक बनिसकेका छन् । सुदूरपश्चिमका एनपी साउद, लुम्बनीबाट बालकृष्ण खाँण, बागमतिबाट महालक्ष्मी उपाध्याय (डिना) र मोहन बस्नेतसम्म शेखर नजिक भइसकेका छन् । त्यसो त १४ औं महाधिवेशनमा शेखर कोइरालाले ४० प्रतिशत मत प्राप्त गरेका थिए । दोस्रो चरणको मतदानमा सभापति पदमा देउवा निर्वाचित हुँदा २ हजार ७ सय ३३ मत प्राप्त गरेका थिए । ४ हजार ६ सय २३ मत खस्दा शेखरको पक्षमा १ हजार ८ सय ५५ थियो ।
अहिलेसम्म कांग्रेसमा सभापतिका दुई प्रत्यासी मात्र मैदानमा देखिएका छन् । अघिल्लो महाधिवेशनमा शेखर सभापति र गगन महामन्त्रीको उम्मेदवार बनेर देउवा समुह बिरुद्ध चुनाव लडेका थिए । मैदानमा देखिएका सभापतिका यी दुई प्रत्यासीले आफ्नो पक्षमा महोल सिर्जना गर्न गृहकार्य सुरु गरिसकेका छन् । महामन्त्री गगन आफै भेटघाट र देश दौडाहमा सक्रिय रुपमा लागेका छन् । त्यसभन्दा अघि उनले गाउँ जागरण अभियान सम्पन्न गरिसकेका छन् । शेखरले पनि भेटघाटलाई तीब्र बनाएका छन् भने तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजंग शाहीको संयोजनमा १० बुँदे एजेण्डासहित मेची-महाकाली ‘युवा सङ्कल्प यात्रा’ सञ्चालन गरेका छन् ।
सभापतिका यी दुई आकांक्षीमध्ये देउवाले कसलाई धाप मार्छन् त्यसको संकेत अहिलेसम्म कतैबाट पनि आएको छैन । तर जुन उम्मेदवारले आफ्ना धेरैभन्दा धेरै सहयोगी समेट्छन् उसलाई देउवाले समर्थन गर्छन् भन्ने कुरा जगजाहेर छ । आफ्ना सहयोगी मात्र होइन, डा. आरजु राणालाई महामन्त्री बनाउने र आफूलाई राष्ट्रपति बनाउन जो राजी हुन्छ उसैलाई सभापति जिताउन देउवा लाग्ने छन् ।
युवा, लगनशील र उम्दा समूह गगनको पक्षमा खुलेर अहिलेदेखि नै मिहेनत गरिरहेका छन् । देश, जनता र पार्टीको भविष्यबारे चिन्ता गर्नेहरु गगन समूहमा देखिएका छन् । जहाँ, राजनीतिमा दाग नलगेको, पढेलेखेका र देशमा केही गरौं भन्ने हुटहुटी भएका नेता, कार्यकर्ता भेटिन्छन् ।
यसको ठीक विपरित छ शेखर समूहमा । पछि पद पाइँदैन भनेर अहिले नै फाल हानेर बिहानै शेखर निवासमा आइपुग्ने एउटा ठूलो समूह छ । उनीहरु पहिला बुढानीलकण्ठ धाउँथे, अहिले अनुहार लुकाएर शेखर निवासमा पुग्छन् । शेखर निवास पुग्ने कांग्रेसका दोस्रो तहका बढी नेताहरु दाग लागेका देखिन्छन् । आफ्नो राजनीति जोगाउन शेखर निवास धाउन तँछाडमछाड गर्नेको लर्को नै लागेको छ ।
प्रतिक्रिया