काठमाडौं । ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसको एकल बहुमत रहेको समितिको सभापतिमा पुराना नेता टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका हुन्।
भट्टराई पञ्चायत कालबाटै शिक्षकको जागिर छाडेर राजनीतिमा लागेका पुराना नेता हुन्। २०७४ को स्थानीय चुनावमा चिशंखुगढी गाउँपालिमा अध्यक्षको टिकट पाएका थिए। त्यसबेला पराजित भएपछि उनी २०७९ मा वडा सदस्य उम्मेदवार बनेर जितेका थिए।
समन्वय समितिमा सभापति निर्वाचित डिल्लीराम खनालको निधनपछि एक बर्षदेखि सभापति खाली थियो। कोशी प्रदेश कार्यसमितिले जिल्लाबाट पठाएका तीन जनाको नामबाट सर्वसम्मत भट्टराईलाई छनौट गरेको ओखलढुंगा कांग्रेसले जनाएको छ । समन्वयमा ८ स्थानीय तहका प्रमुख र उपप्रमुखको गरि १६ मत रहेको छ। यसमध्ये कांग्रेसको एक्लै ९ र अन्य दलहरूको गरी ७ रहेको छ।
भट्टराई निर्विरोध निर्वाचित भएकोमा नेपाली कांग्रेसले उनलाई बधाई दिएको छ । नेपाली कांग्रेसका उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन अहं भूमिका निर्वाह गरेका अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिहरुलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालय धन्यवाद व्यक्त गरेको छ ।
प्रतिक्रिया