स्थानीय तह उपनिर्वाचनः एमालेलाई बोनस !

स्थानीय तह उपनिर्वाचनः एमालेलाई बोनस !



काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा ३३ वडा (एकजना निर्विरोध) लगायत ८ वटा पालिकामा मंसिर १६ मा मतदान हुँदैछ । ३३ वटा वडालाई छाड्ने हो भने दुईवटा नगरपालिकामा मेयर र उपमेयर, दुईवटा गाउँपालिका अध्यक्ष र चारवटा गाउँपालिका उपाध्यक्ष पदका लागि मंसिर १६ मा निर्वाचन हुनेछ ।

कीर्तिपुर नगरपालिकाको प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङ ग्रामथान र दैलेख महाबु गाउँपालिका अध्यक्ष र दोलखाको गौरीशंकर, हुम्लाको सर्केगाड, बाजुराको स्वामीकार्तिक खापर र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका लागि मतदान हुनेछ ।

यी ८ वटै स्थान कांग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिबाट रिक्त भएका हुन् । ८ मध्ये ६ वटा कांग्रेस र २ वटामा माओवादी निर्वाचित भएका थिए । यी ८ मध्ये कुनै पालिका एमालेले जित्यो भने उसलाई यो कार्यकालका लागि बोनसका रुपमा प्राप्त हुनेछ । कांग्रेस र माओवादी विजयी भएका यी स्थानमा निकटतम प्रतिद्वन्द्वी एमाले नै रहेको छ ।

कीर्तिपुर नगरपालिकामा कांग्रेसका राजकुमार नकर्मीको मृगौल फेल भएर निधन भएपछि उक्त स्थान खाली भएको हो । उनी निर्वाचित हुँदा ९ हजार ४३ मत प्राप्त गरेका थिए । उनका निकतम प्रतिद्वन्द्वी केशव बज्रचार्यले ५ हजार ५ सय ७ मत प्राप्त गरेका थिए । यसपटक कांग्रेसले कृष्णमान डंगोल र एमालेले सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ ।

यस्तै जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख कांग्रेसबाट निर्वाचित सरिता सिंहको भूकम्पमा परी ज्यान गएको थियो । उनले ५ हजार ४ सय ६ मत ल्याएर एमालेकी सुनिता बोहोरालाई पराजित गरेकी थिइन् । बोहोराले ३ हजार ३ सय ९३ मत प्राप्त गरेकी थिइन । यसपटक कांग्रेसले इन्द्रा चन्द (सिंह) लाई उम्मेदवार बनाएको छ भने एमालेले पुनः बोहोरालाई उम्मेदवार बनाएको छ ।

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको मस्तिकघातबाट निधन भएपछि उक्त स्थान रिक्त भएको हो । कांग्रेसबाट निर्वाचित थारु ७ हजार ६ सय ५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी शिवनारायण माझीले ६ हजार ९३ मत प्राप्त गरेका थिए । यसपटक कांग्रेसले बलराम सरदार थारुलाई उम्मेदवार बनाएको छ भने एमालेबाट तुलसीराम विश्वास उम्मेदवार छन् ।

यसैगरी दैलेखको महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङ ७९ वर्षका लछुमनको उच्च रक्तचापबाट निधन भएपछि उक्त स्थान रिक्त भएको हो । नेपाली कांग्रेसबाट निर्वाचित गुरुङले २ हजार ९ सय ७९ मत प्राप्त गरेका थिए । एमाले उम्मेदवार हरिप्रसाद उपाध्यायले २ हजार ५ सय १९ मत पाएका थिए । यसपटक कांग्रेसले झलकबहादुर भण्डारी र एमालेले जंगबहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।

मंसिर १६ मा निर्वाचन हुन लागेको ४ उपाध्यक्षमध्ये कांग्रेस र माओवादी २–२ स्थानमा निर्वाचित थिए । दोलखाको गौरीशंखरबाट श्यामसुन्दर तामाङ र बाजुराको स्वामीकार्तिक खपारबाट मैना जोशी कांग्रेसबाट निर्वाचित थिए । यसैगरी हुम्लाको सर्केगाडबाट चन्द्रसिंह कार्की र रुकुम पूर्वबाट भूपेन्द्रा बुढा माओवादीबाट निर्वाचित भएका थिए ।

गौरीशंखर गाउँपालिकाबाट कांग्रेसका तामाङले ४ हजार ७ सय ४१ मत प्राप्त गरेका थिए । एमालेका मुना शिवाकोटीले ३ हजार २ सय ८१ मत प्राप्त गरेकी थिइन् । यस्तै बाजुरा स्वामिकार्तिक खापरबाट कांग्रेसकी जोशीले १ हजार ८ सय १० मत प्राप्त गर्न एमालेकी सुलोचनाकुमारी भण्डारीले १ हजार ६ सय ३७ मत प्राप्त गरेकी थिइन् ।

गौरीशंकरबाट कांग्रेसले पासदिकी तामाङ र एमालेले उमा लुङ्गेली मगर शेर्पालाई उम्मेदवार बनाएको छ । यस्तै बाजुरा स्वामिकार्तिक खापरबाट कांग्रेसले पुल्तीसरा शाही र एमालेकी सुलोचनाकुमारी भण्डारी उम्मेदवार बनेकी छन् ।

सर्केगाडका तत्कालिन उपाध्यक्ष चन्द्रसिंह कार्की माओवादीबाट निर्वाचित भएका थिए । उनले ३ हजार २ सय ६९ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी जुनकुमारी फडेराले १ हजार ६४ मत प्राप्त गरेकी थिइन । सडक दुर्घटनामा निधन भएकी पुथा उत्तरगंगाकी उपाध्यक्ष भूपेन्द्र बुढाले ४ हजार ४ सय ५९ मत प्राप्त गरेकी थिइन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कमलाकुमारी मल्लले २ हजार १० मत प्राप्त गरेकी थिइन् ।

सर्केगाडबाट माओवादीकी देवकी तिमल्सिनालाई उम्मेदवार बनाएको छ भने कांग्रेसकी सविता बुढा र एमालेका ऐनबहादुर शाही उम्मेदवार बनेका छन् भने पुथा उत्तरगंगाबाट कांग्रेसकी केशकुमारी तुलाचन र माओवादीकी नरपुरा बुढा उम्मेदवार छन् । तुलाचन एमाले नेतृ हुन् ।

यी ८ पालिकामा कांग्रेस र माओवादीबाट निर्वाचित भए पनि निकटतम प्रतिद्वन्द्वी एमाले रहेको छ । कथंम् एमाले निर्वाचित भयो भने उसले बनोसस्वरुप जनप्रतिनिधि प्राप्त गर्नेछ ।