नागरिकता त्याग्ने प्रकृयामा रहेका रिजाल कांग्रेसको नीति प्रतिष्ठानमा कार्यकारी बन्न दौडधुप

नागरिकता त्याग्ने प्रकृयामा रहेका रिजाल कांग्रेसको नीति प्रतिष्ठानमा कार्यकारी बन्न दौडधुप



काठमाडौं । नेपाली नागरिकता त्याग्ने प्रकृयामा रहेका केशव रिजाल नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक बन्न दौडधुप गरिरहेका छन् । पार्टी कार्यालयका पूर्व कर्मचारी रिजाल नफर्किने गरी उपदान लिएर अमेरिका गएका थिए ।

उपसभापति पूर्णबहादुर खड्का निकट रिजाल उक्त पद लिनका लागि यतिबेला दौडधुपमा छन् । उपसभापति खड्काको इन्ट्रेसमा रिजाललाई उक्त पदमा जिम्मेवारी दिन खोजिएको हो वा रिजाल आफै खड्काको राजनीतिक सम्भावना देखिएर उक्त पदमा फर्किन खोजेका हुन् भन्ने कुरा स्पष्ट छैन । उक्त पदमा पार्टी उपसभापति खड्काले नै नियुक्ति दिने हो । यो पार्टी उपसभापतिको तजविजी अधिकारीमा पर्छ ।

डा. सुरेश आचार्य सूचना आयोगमा प्रमुख आयुक्त भएर गएपछि उक्त पद खाली छ । पार्टीको नीति निर्माणको महत्वपूर्ण अंग मानिएको प्रतिष्ठानमा प्रायः प्राज्ञिक व्यक्तित्वलाई राखिएको छ । अहिले पनि डा. जगदिशचन्द्र पोखरेललगायतका सदस्यहरु र प्राज्ञिक व्यक्तिहरु छन् ।

एक वर्ष अगाडि रिजाल सधैंका लागि अमेरिका उडेका थिए । अमेरिकाको ग्रिनकार्ड होल्डर बन्न प्रयासरत रिजालले पार्टी कार्यालयबाट १९ लाख ३१ हजार रुपैयाँ उपदान बुझेका थिए ।

लामो समय पार्टी कार्यालयमा महत्वपूर्ण जिम्मेवारीमा रहेरका रिजालले औपचारिक रुपमा पार्टीका मुख्यसचिवलाई राजीनामा दिनसमेत आवश्यक ठानेनन् । उनले पार्टी सभापति र मुख्यसचिवलाई राजीनामा नदिइ सामाजिक सञ्जालमा राजीनामा राखेर जिम्मेवारीबाट अलग भएका थिए ।

रिजालकी श्रीमतिको नाममा डिभी चिठ्ठा परेको थियो । त्यतिबेलादेखि रिजालकी श्रीमति अमेरिका बस्दै आएकी छिन् । केशवबाहेक रिजाल परिवार नै अमेरिकामै बसोबास गरिरहेको छ ।

तत्कालीन पार्टीका महामन्त्री स्व. खुमबहादुर खड्काको स्वकीय सचिवालयमा बसेका उनी पार्टी एकीकरण हुँदा पार्टी कार्यालयमा जागिर खाएका थिए । रिजालले २०५९ असार १५ गतेदेखि कांग्रेसको केन्द्रीय कार्यालयमा जागीर सुरु गरेका थिए ।