कांग्रेसका हाई प्रोफाइल नेताले जोगाउन सकेनन् आफ्नै स्थानीय तह

कांग्रेसका हाई प्रोफाइल नेताले जोगाउन सकेनन् आफ्नै स्थानीय तह



काठमाडौं । पार्टीभित्र भाग खोज्न ताण्डप मच्चाउने तर आफ्नो वडा, निर्वाचन क्षेत्र र जिल्लाका स्थानीय तहमा आफ्ना उम्मेदवार जिताउन नसक्ने केही कांग्रेस नेता यो उपनिर्वाचनले पहिचान गरेको छ ।

मंसिर १६ गते आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा कांग्रेसले २ वटा गाउँपालिका प्रमुख, २ वटा उपप्रमुख, १ उपमेयर र ३ वडाध्यक्ष गुमायो । कांग्रेसले गुमाएको यी स्थानीय तह पार्टीभित्र नेतृत्वका लागि सिगौरी खेल्ने नेताहरुको वडा, निर्वाचन क्षेत्र र जिल्ला हुन् ।

कांग्रेसको शीर्ष नेताहरुको जिल्लामा नै यो हविगत देखियो । महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्ण सिटौला र शेखर कोइरालाको प्रदेश कोशी हो । शर्मा र सिटौला झापाका र कोइराला मोरङका हुन् । कोशीमा एउटा गाउँपालिका र ७ वटा वडामा उपनिर्वाचन भएको थियो । ०७९ को निर्वाचनमा गाउँपालिका अध्यक्षसहित अन्य ४ वटा वडामा कांग्रेस निर्वाचित भएको थियो ।

यो उपनिर्वाचनमा कांग्रेस २ वटा वडामा मात्र सीमित भयो । तेह्रथुमको लालिगुराँस–८ र सुनसरीको गढी–६ मा मात्र कांग्रेसले जित्यो । अर्थात् एक गाउँपालिका अध्यक्षसहित २ वटा वडा कांग्रेसले गुमाउनु परेको छ । गाउँपालिका अध्यक्ष गुमाएको पालिका नेता शेखर कोइरालाको जिल्ला हो । जो १५ औं महाधिवेशनमा पार्टी सभापतिको तयारीमा जुटेका छन् ।

विमलेन्द्र निधि, महेन्द्र यादवलगायतका नेता भएको मधेश प्रदेशमा पनि कांग्रेस खुम्चिएको छ । अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको ५ वटा वडामा उपनिर्वाचन भएको थियो । यसपटक कांग्रेसले दुईवटा वडामा मात्र जित्न सकेको छ । धुनषा र सप्तरीका ३ वटा वडा कांग्रेसले गुमाएको छ ।

बागमति प्रदेशमा महामन्त्री गगन थापा, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, अर्जुननरसिंह केसीलगायतका नेताहरु रहेका छन् । यो प्रदेशबाट एउटा उपाध्यक्ष र एकजना वडाध्यक्ष कांग्रेसले गुमाएको छ । यो प्रदेशमा कांग्रेसले जितेको ५ ठाउँमा उपनिर्वाचन भएको थियो । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, काठमाडौं–१६ र नुवाकोटको ककनी–२ वडा कांग्रेसले गुमायो । काठमाडौं–१६ प्रकाशमान सिंहले मतदान गरेको क्षेत्र हो ।

लुम्बिनीमा कांग्रेसले जितेको ४ स्थानमा उपनिर्वाचन भएको थियो । त्यसमा ३ वटा स्थानमा मात्र कांग्रेसले बिरासत जोगाउन सक्यो । लुम्बिनीमा पनि कांग्रेसले एउटा वडाध्यक्ष गुमायो । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ एमालेले खोस्यो ।

पार्टी उपसभापति पूर्णबहादुर खड्काको राजनीतिक थलोको रुपमा रहेको कर्णालीमा कांग्रेसले एक अध्यक्ष, एक उपमेयर गुमाएको छ । यसको बदलामा कांग्रेसले एउटा वडाध्यक्ष जितेको छ । कुसे–७ मा गत स्थानीय निर्वाचनमा दोस्रो भएका खम्बबहादुर सिंह निर्वाचित भएर पार्टीको नाक जोगाएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको जिल्लासमेत रहेको सुदूरपश्चिम प्रदेशमा कांग्रेसले एउटा उपाध्यक्ष गुमाएको छ । पार्टी सहमहामन्त्री तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको गृहजिल्ला बाजुराबाट एउटा उपाध्यक्ष गुमाएको हो । त्यसबाहेक कांग्रेसले यो प्रदेशबाट एउटा वडाध्यक्ष बोनस पाएको छ ।

उपनिर्वाचनको परिणामबाट कांग्रेस सन्तुष्ट हुनुपर्ने ठाउँ काहिँकतै भेटिदैन । स्थानीय तह, जिल्ला र प्रदेशमा पक्कड नराख्ने केन्द्रीय नेताहरु पार्टीभित्र हाबी हुनु सुखद् संकेत नभएको राजनीतिक विश्लेषक सुवास साह बताउँछन् । उनले भने, ‘स्थानीय तह राजनीतिक दलको आधारभूमि हो, यो आधारभूमिलाई नेताहरुले जहिले बलियो बनाएर राख्नुपर्छ । आधारभूमि बलियो भयो भने मात्र पार्टी बलियो हुन्छ ।’

कांग्रेसमा स्थानीय तहबाट पक्कड गुमाएका नेताहरु केन्द्रमा हाबी भए कि भन्ने प्रश्न यो उपनिर्वाचनले खडा गरेको छ । अधिकांश समय राजधानीमै विलासी जीवन विताउने ‘हाई प्रोफाइल’ नेताहरु स्थानीय जनताबाट टाढिदै गएको देखिन्छ । कांग्रेस पार्टीप्रति चौतर्फी रुपमा आक्रमण भइरहेको यो समयमा नेताहरुले आफ्नो निर्वाचन क्षेत्रको पक्कडसम्म कायम गर्न नसक्ने हो भने आगामी निर्वाचनमा कांग्रेसलाई ‘रामराम’ भन्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । तसर्थ, कांग्रेस नेताहरु सच्चिने कि सक्किने आफै निर्णय गर्ने बेला आएको छ ।