काठमाडौं । दक्षिण कोरियाली सांसदहरूले राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाएका छन् । राष्ट्रपति युनले विश्वलाई चकित पार्ने गरी गएराति मार्सल कानून लागू गरेका थिए । तर त्यसको केही घण्टामा नै उनले सैन्य शासन लागू हुने मार्सल कानून फिर्ता गर्नुपरेको थियो ।
राष्ट्रपतिको घोषणाको दुई घण्टा पनि नबित्दै दक्षिण कोरियाली सांसदहरूले राष्ट्रिय सभा (संसद्) मा प्रवेश गरेर निर्णय रोक्न मतदान गरेका थिए । एक सांसदले आफू पर्खालमा चढेर संसद् भवनमा पसेको र त्यसका लागि प्रदर्शनकारीहरूले मद्दत गरेको बताएका बीबीसीले जनाएको छ ।
संसदमा उपस्थित सबै एक सय ९० जना सांसदले मार्सल कानूनविरुद्ध मतदान गरेपछि राष्ट्रपति युनले आफ्नो निर्णय उल्टाउने घोषणा गरेका थिए । त्यसपछि आज सांसदहरूले राष्ट्रपति युनविरुद्ध महाभियोगको प्रक्रिया शुरू गरेका हुन् ।
राष्ट्रपति युनले दक्षिण कोरियालाई उत्तर कोरियाको कम्युनिस्ट शक्तिहरूबाट जोगाउन र राज्यविरोधी तत्त्वहरूलाई परास्त गर्न मार्सल कानून आवश्यक भएको दाबी गरेका थिए ।
सांसदहरूले अब आउँदो शुक्रवार वा शनिवार राष्ट्रपतिविरुद्धको महाभियोगको प्रस्तावमा मतदान गर्ने सम्भावना रहेको बीबीसीले जनाएको छ । संसद्को दुई तिहाइ बहुमतबाट महाभियोग अनुमोदन भएमा राष्ट्रपति युनले संवैधानिक अदालतमा मुद्दाको सामना गर्नुपर्नेछ । अदालतले पनि महाभियोग पारित गर्याे भने त्यसको ६० दिनभित्र नयाँ चुनाव हुन्छ ।
यसैबीच दक्षिण कोरियाका रक्षामन्त्री किम योङ–ह्युनले मार्सल कानून लागूको सम्पूर्ण जिम्मेवारी लिँदै राजीनामा दिएका छन् । उनले विज्ञप्ति निकालेर भ्रम फैलाउने र दुःख दिने काम गरेकोमा नागरिकसँग माफी मागेकाे बीबीसीले जनाएको छ ।
प्रतिक्रिया