भोलि शुक्रबारदेखि पुनः बदली र वर्षा हुने

भोलि शुक्रबारदेखि पुनः बदली र वर्षा हुने

आइतबारबाट मौसममा सुधार आउने


ग्लोब नेपाल
459
Shares

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले भोलि रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल कायम रहेको पचिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेकाले आज र भोलि मौसम सामान्यतया सफा रहे पनि भोलि शुक्रबारदेखि अर्को मौसमी प्रणाली भित्रिने भएकाले बदली र वर्षा हुनेछ ।

“आज खासै वर्षाको सम्भावना छैन, उनले भनिन्, “भोलिदेखि प्रणाली भित्रिने भएकाले रातिबाट बादल लागेर शनिबार वर्षा हुने देखिन्छ । देशैभर बदली रहे पनि वर्षा सुदूरपश्चिम, कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ ।”

मौसमविद् मानन्धरले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर बदली गराउनुका साथै कतिपय स्थानमा वर्षा हुने उल्लेख गरिन । आइतबारबाट क्रमिक रुपमा मौसममा सुधार आउनेछ ।

पुसे झरी भएकाले चिसो क्रमशः बढ्दै जाने मौसमविद् मानन्धरको भनाइ छ । उनले भनिन, “मङ्गलबारको हल्का वर्षाले आकाश खुलेकाले न्यूनतम तापक्रम घटेको छ । घाम लागेपछि अधिकतम तापक्रम वृद्धि हुन्छ । पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएपछि न्यूनतम तापक्रम घटेर विहान र राति बढी चिसो हुनेगर्छ ।”

गत मङ्सिर २९ गते न्यूनतम तापक्रम घटेर २ दशमलव ५ डिग्रीसेल्सियस पुगेको थियो । मौसम बद्ली हुँदा न्यूनतम तापक्रम नघटे पनि चिसो भइरहन्छ । घाम लागेपछि न्यूनतम तापक्रम घट्ने गरेको महाशाखाले उल्लेख गरेको छ ।

मौसमविद्को भनाइमा अङ्ग्रेजी जनवरी महिना सबैभन्दा चिसो महिना मानिन्छ । माघको दोस्रो र तेस्रो सातापछि दिन विस्तारै लम्बिने र तापक्रम पनि थोरै बढ्दै जान्छ । पुसे झरीले अझै जाडो बढ्ने जनाइन्छ ।

राति छिटफुट वर्षा भएर बिहान सामान्य बदली रहे पनि मध्याह्नतिर काठमाडौँको आकाशमा पारिलो घाम लागेकाले हिजो दिउँसो केही न्यानो महसुस गरिएको थियो ।