काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा दोस्रो पल्ट निर्वाचित डोनाल्ड ट्रम्पले आजदेखि राष्ट्रपतिको पद सम्हाल्दै हुन् । नेपाली समयानुसार आज राति पौने ११ बजे हुने शपथ ग्रहण समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले ट्रम्प र उपराष्ट्रपति जेडी वेन्सलाई शपथ गराउने बीबीसीले जनाएको छ ।
क्यापिटल भवन अगाडि हुँदै आएको राष्ट्रपतिको शपथ ग्रहण समारोह यस पटक खुला ठाउँमा नभई संसद् भवनभित्र हुँदैछ । अत्यधिक चिसो मौसमका कारण दशकौंपछि पहिलो पटक भवनभित्र समारोह हुन लागेको हो ।
शपथका बेला ट्रम्पकी श्रीमती मेलानिया बाइबल समाएर उभिने र ट्रम्पले देब्रे हातले बाइबल छुने कार्यक्रम छ । बाइबलमा हात राखेर शपथ लिने परम्परा सन् १७८९ मा जर्ज वाशिङ्गटनले शुरू गरेका हुन् । यो संवैधानिक व्यवस्था नभए पनि परम्परा बनेको छ । केही राष्ट्रपतिले बाइबल नछोइकन पनि शपथ लिएका छन् ।
नवनिर्वाचित राष्ट्रपतिले देशका नाममा पहिलो सम्बोधन गरेपछि राष्ट्रपति र उपराष्ट्रपति दुवैले आफ्नो पहिलो आधिकारिक काममा हस्ताक्षर गर्ने छ । वाशिङ्टन डीसीमा रहेको संसद् भवन, यूएस क्यापिटलमा हुने समारोहमा राष्ट्रपति जो बाइडेन, उप–राष्ट्रपति कमला ह्यारिसलगायत अमेरिकाका प्रभावशाली राजनीतिकर्मी, खर्बपतिदेखि विभिन्न देशका नेता र सेलेब्रिटीहरूको उपस्थिति हुनेछ ।
यो पटक डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको ७५ दिनपछि सत्ता सम्हाल्दै छन् । अमेरिकामा शक्ति हस्तान्तरण प्रक्रिया पूरा हुन नतिजा प्राप्त भएको ७२ देखि ७८ दिनसम्म लाग्न सक्छ । नयाँ राष्ट्रपतिले चार हजार जनाभन्दा धेरै राजनीतिक नियुक्ति गर्ने गर्छन् । जसमा झन्डै एक हजार जनालाई सिनेटको मञ्जुरी चाहिन्छ ।
अमेरिकामा पद सम्हालेपछि राष्ट्रपति ह्वाइट हाउसमा बस्नुपर्ने अनिवार्य हुन्छ । यो अमेरिकाको राष्ट्रपतिको आधिकारिक निवास र कार्यालय हो ।
राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिन नै ठूला परिवर्तनका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हिजो भएको एउटा र्यालीमा बोल्दै ट्रम्पले आफूले कार्यभार सम्हालेको केही क्षणमै कतिपय कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्ने र त्यसमा आप्रवासन र देश निकालादेखि वातावरण र पारलिङ्गी अधिकारका मुद्दाहरू समेट्ने बताएका छन् । ट्रम्पले शपथ ग्रहणलगत्तै झन्डै दुई सय वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी रहेको बीबीसीले जनाएको छ ।
कार्यकारी आदेश भनेको राष्ट्रपतिले नीतिगत परिवर्तन लागू गर्नसक्ने तरिकाहरूमध्ये एक हो । जसका लागि सांसदहरूको मत हासिल गर्न आवश्यक पर्दैन । तर कार्यकारी आदेशहरूको कानूनी समीक्षा हुनसक्छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा २ सय २० वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
यसैबीच अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले शपथ लिनुअघि आफ्नै क्रिप्टोकरेन्सी ल्याएका छन् । मिम कोइन डलर ट्रम्प नाम दिइएको डिजिटल मुद्रा केही घण्टामा नै कैयौं अर्ब डलरमा परिणत भएको बीबीसीले जनाएको छ । त्यस्तै ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले पनि डलर मेलानिया नामको क्रिप्टोकरेन्सी घोषणा गरेका छन् ।
प्रतिक्रिया