काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणमा दुई देशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री ओली र थाइल्यान्डका प्रधानमन्त्री पेतोङत्रान सिनावात्राबीच भेटवार्ता भएपछि दुई देशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपालमा तर्फबाट परराष्ट्रमन्त्री देउवाले ती समझदारीपत्रमा हस्ताक्षर गरेकी हुन् । यसैगरी थाइल्याण्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारीपत्रमा संस्कृतिमन्त्री सुदावान सुफाजीकिज्कोसल र पर्यटन सहयोगसम्बन्धी सम्झौतापत्रमा पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरे ।
यसैगरी दुईदेशका प्रधानमन्त्रीका उपस्थितिमा गैरसरकारी क्षेत्रसँग सम्बन्धित स्वास्थ्य, शिक्षा र व्यापार वाणिज्यसँग सम्बन्धित क्षेत्रमा विभिन्न समझदारीपत्रमा समेत हस्ताक्षर भएको थियो ।
थाइल्याण्ड सरकारको औपचारिक भ्रमण तथा छैटौँ ‘बिम्स्टेक’ सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही चैत १९ गते त्यहाँ गुगेका थिए ।
त्यसैगरी आँखा उपचार सेवाको विकास र विस्तारका लागि नेपाल नेत्रज्योति संघ र थाइल्याण्डको महिडोल युनिभर्सिटीका बीचमा आपसी सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्को समुपस्थितिमा आज ती दुई संस्थाहरुबीच बैँककमा आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी भएको यहाँस्थित नेपाल नेत्रज्योति संघले जनाएको छ ।
आँखा उपचार सेवाको विकास र विस्तारका लागि ज्ञान, विशेषज्ञता र प्रविधिहरू आदान–प्रदानका लागि दुई संस्थाहरुका बीचमा समझदारी भएको जनाइएको छ । उक्त सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्त र महिडोल युनिभर्सिटीका चिकित्सा सङ्काय, रामाथिबोडी अस्पतालका डिन प्राध्यापक आर्टिट उङ्कानन्तले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताअनुसार अब दुई संस्थाले थाइल्याण्ड, नेपाल तथा अन्य देशहरूमा आँखा परीक्षणलगायतका आँखा हेरचाहसम्बन्धी कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गर्नेछन् । नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार नेपाल र थाइल्याण्डका नेत्र विशेषज्ञ तथा अन्य आँखा सेवामा संलग्न विज्ञहरूको अनुभव तथा क्षमता अभिवृद्धि गर्न संयुक्त रूपमा काम गर्नेछन् भने ‘इन्टर्नशिप’ तथा छात्रवृत्तिहरूको समेत आदानप्रदान हुनेछ ।
प्रतिक्रिया