बाँके । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहले दुर्गा प्रसाईंलाई ‘जनकमान्डर’ तोकेपछि हिंसा, आगजनी र लुटपाट भएको टिप्पणी गरेका छन् ।
बाँकेमा बुधबार आयोजित अखिल नेपाल महिला संघ क्रान्तिकारीको लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन उद्घाटन गर्दै प्रचण्डले राजसंस्था पुनर्स्थापनाका लागि भन्दै चैत १५ गते तीनकुने क्षेत्रमा भएको तोडफोड, आगजनी र लुटपाट सबै जनताले देखेको बताए ।
‘ज्ञानेन्द्र शाहलाई सबभन्दा मनपर्ने मान्छे, जसलाई प्रदर्शन र सभाको नेतृत्व दियो चिन्नुहुन्छ तपाईंले ? दुर्गा प्रसाईं हावा । एउटा हावा हो भन्ने सबैलाई थाहा छ,’ प्रचण्डले भने, ‘दुर्गा प्रसाईंलाई त के भन्नु छ र, ज्ञानेन्द्रको बुद्धि । के बुद्धि भएको मान्छे होलान्, त्यस्तालाई बनाउन हुन्छ कमाण्डर ? अनि जे हुनुथियो त्यही भयो । हत्या, हिंसा लुटपाट, तोडफोड जनताले पनि देखें ।’’
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली बयलगाढावाला सिद्धान्तको मान्छे भएकाले गणतन्त्रको रक्षा गर्न सम्भव नभएको बताए । गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी माओवादी केन्द्रकै भएकाले अभियान छाडेर काठमाडौंमा कार्यक्रम गरेको बताए ।
उनले समाजवादी मोर्चाले चैत १५ गते करिब एक लाख जनता सडकमा उतारेपछि पुरै संसारले आश्चर्य मानेर हेरेको बताए ।
उनले माओवादीसहित मोर्चाले एक लाख जनता सडकमा उतार्दा पनि अनुशासित र संयमित भएर भव्य कार्यक्रम गरेकोप्रति पनि धेरैले आश्चर्य मानेको बताए ।
उनले १५ गतेको कार्यक्रमपछि दुर्गा प्रसाईं नभइ ज्ञानेन्द्र नांगेझार भएको टिप्पणी गरे । ज्ञानेन्द्रको यस्तै बुद्धि भएर दरबार हत्याकाण्ड, मुर्ति चोरीलगायतको घटना भएका तर्क गरे । उनले विदेशीले पैसा पठाइदिएको भरमा राजतन्त्र फर्काउँछु भन्दै भन्ने षड्यन्त्र सफल नहुने बताए ।
अध्यक्ष प्रचण्डले महिलाले बन्दुक उठाएकैले नेपालबाट राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएको बताएका छन् । उनले नेपाली महिलाले वीरताको उच्च गाथा कोरेको बताए ।
प्रचण्डले भने, ‘माओवादीको जनमुक्ति सेनामा ४०–४५ प्रतिशतसम्म महिला थिए । जहाँ महिलाले कमान्ड गरेको कुनै पनि मोर्चा हामीले हारेनौं । यो सबैका निम्ति उत्साहको गर्वको कुरा हो । हामीले युद्धमा सहजै जित हासिल गरेका थिएनौं, त्यसको पछाडि लडाईंको मोर्चामा जाने महिलाले जगाएको उत्साह थियो, वीरता थियो । त्यही वीरताले यो देशबाट राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको स्थापना गरेको हो । देशमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्दै समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित भएको हो ।’
राज्यबाट वर्षौंसम्म हेपिएका र दबाइएका महिलाले हातमा बन्दुक बोकेपछि नेपाली इतिहास बदलिएको उनको भनाइ छ । ‘नेपालका श्रमजीवी महिलालाई राज्यले सधैं हेप्यो, दबायो । ती हेपिएका, दबाइएका महिला जब बन्दुक हातमा लिएर अगाडि बढे उनीहरूले इतिहास बदल्न सक्ने रहेछन्, राजा–महाराजालाई खेद्न सक्ने रहेछन भन्ने पुष्टि भयो,’ अध्यक्ष प्रचण्डले भने ।
जनयुद्धको बेलामा महिलाको सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुन सक्दैन भन्ने विश्वइतिहास, मार्क्सवाद, लेनिनवाद र माओवादले सिकाएको कुरा तत्कालीन नेकपा माओवादीले लागू गरेको प्रचण्डले बताए ।
जनयुद्धमा नेपाली महिलाको योगदान विश्वक्रान्तिकै लागि उदाहरण बनेको भन्दै उनले थपे, ‘नेपाल विश्वक्रान्तिको इतिहासमा उदाहरण बन्यो । नेपालका दलित महिलाले अब प्रहरी चौकी कब्जा गरेर पार्टीलाई हतियार बुझाउने काम गरे, त्यसले समग्र क्रान्तिमा ऊर्जा भर्ने काम भयो ।’
प्रतिक्रिया