काठमाडौं । गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा पहिरोबाट विस्थापितहरूलाई तत्काल राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएका छन् ।
सोमबार गृह मन्त्रालयमा बसेको बैठकले पहिरोबाट विस्थापितहरूलाई तत्काल त्रिपाल र खाद्यान्न लगायतका राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएको हो ।
मन्त्री लेखकले विस्थापितहरूका लागि तत्काल हेलिकप्टरबाट राहत सामाग्री र स्थलगत अध्ययन काम लागि प्राविधिक टोली समेत पठाउन निर्देशन दिएका हुन् ।
बैठकमा मन्त्री लेखकले तत्काल विस्थापितहरूको खाने बस्ने व्यवस्था गर्न र प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर रिपोर्ट तयार गर्न समेत निर्देशन दिए । राहत तथा स्थलगत अध्ययनका लागि कर्णाली प्रदेश सरकारसित आवश्यक समन्वय गर्न मातहतका निकायलाई निर्देशन दिए ।
हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमताल फुटेर लेदोसहितको पहिरोले स्थानीय विस्थापित भएका छन् । अहिलेसम्म सो क्षेत्रमा ३२ जना विस्थापित भएको खबर छ ।


प्रतिक्रिया