काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।
सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
बैठकपछि प्रवक्ता अग्नि सापकोटाले भने, ‘हाम्रो पार्टीको आज बसेको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ ।’
स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पनि मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको ठहर छ । प्रवक्ता सापकोटाले भने, ‘जुन छानबिन नै सुरु गरिसकेको छ नि राज्यका निकायले यस्तो स्थितिमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । ताकि पहुँच, प्रभाव र पावर प्रयोग हुन नपाओस् ।’
दुई पार्टीसँग एकता गर्ने निर्णय
नेकपा माओवादी केन्द्रले दुई पार्टीसँग एकता गर्ने निर्णय गरेको छ । सोमबारको पदाधिकारी बैठकले नेपाल समाजवादी पार्टी(नेसपा) गंगानारायण श्रेष्ठ समूह र नेपाः राष्ट्रिय पार्टीसँग एकता गर्ने निर्णय गरेको हो ।
पार्टी एकताका लागि वैचारिक र सैद्धान्तिक विषय टुंगाे लगाइसकेको बताइएकाे छ ।
नेसपा श्रेष्ठ समूहसँग सोमबार मध्यान्ह १२ बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेट र नेपाः राष्ट्रिय पार्टीसँग १ः३० बजे एकता हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।


प्रतिक्रिया