काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका घटनामा संलग्न रहेको आरोपमा मुद्दा लागेका ‘संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ‘जनकमाण्डर’ दुर्गा प्रसाईंसहित ३९ जनाको बयान सकिएको छ ।
प्रसाईंको नेतृत्वमा आह्वान भएको तीनकुनेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु, निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो । उक्त घटनाको मुद्दा जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा चलिरहेको छ ।
५० जनाविरूद्ध दायर भएको मुद्दामा ३९ जना मात्रै उपस्थित छन् ।
मंगलबार उनीहरूको बयान सकिएको हो । बयान सकिएसँगै बुधबारदेखि थुनछेक बहस सुरू हुनेछ ।
५० जनामाथि राजद्रोह, आपराधिक उपद्रव कसुर र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो । तीमध्ये प्रसाईंसहित ८ जनाविरूद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि मुद्दा दायर भएको हो ।
आपराधिक उपद्रव कसुरमा ११ जनाविरूद्ध अर्को मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा सबै जनालाई धरौटीमा रिहा गर्न आदेश दिइएको थियो ।
यही घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्षसमेत रहेका समितिका सदस्य सचिव रवीन्द्र मिश्र र राप्रपा महामन्त्री धवल शम्शेर राणा हाजिरी जमानीमा छुटेका थिए ।


प्रतिक्रिया