काठमाडौं । रौनक श्रीवास्तवको शतक सहयोगमा एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा भुटानविरुद्धको खेलमा नेपालले विशाल अन्तरको जित हासिल गरेको छ ।
मलेसियाकाे क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा भएको खेलमा नेपालले भुटानमाथी २ सय ९८ रनको फराकिलो जित हात पारेको हो । ३ सय ५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाउदै ६० रन बनायो । भुटानको अन्तिम ब्याटर क्रिजमा नआएपछि नेपाल विजयी भयो ।
भुटानका लागि सुजन दावा सर्वाधिक १४ रन र ओपनर उयोग छोफेल १० रनमा आउट भए । भुटानका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले ४ विकेट, सचिन भट्ट तथा सुयोग भट्टराईले समान २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५८ रन बनाएको थियो ।
नेपालका लागि रौनकले १ सय ३२ बलमा १६ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक १ सय ६८ रनको शतकीय इनिङ खेले । शिवान्शं बजगाईंले ५२ बलमा ५ चौकाको सहयोगमा ५४ रनमा आउट भए ।
सुगम बुढाथोकीले ३३ बलमा ४ चौकाको सहयोगमा ३५ रन जोडे ।
जोय थापा ६७ बलमा ७ चौकाको सहयोगमा ६१ रनमा अविजित रहे । अघिल्लो खेलमा शतक प्रहार गरेका प्रसिद्ध जैसी १४ बलमा ७ तथा परिमार्जन यादव २ रनमा आउट भए । भुटानका लागि संजय दोर्जेले ३ तथा तेन्जिन लोडेले १ विकेट लिए ।
नेपाल समूह चरणको चारै खेलमा विजेता बन्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ । यो समूहबाट दोस्रो स्थानमा रहदै सिंगापुरले सेमिफाइनलमा स्थान बनाएको छ ।
प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ । नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । सन् २०२३ मा भएको प्रतियोगितामा मलेसियालाई हराउदै नेपाल च्याम्पियन भएको थियो ।


प्रतिक्रिया