काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनियमितताको आरोपबारे छानबिन गर्न खेलकुद मन्त्रालयले बनाएको कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलकी अध्यक्ष रञ्जना प्रधानले खेलकुदमन्त्री तेजुलाल चौधरीलाई आज प्रतिवेदन बुझाएकी हुन् ।
एनपिएलको विवादको विषयमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले शुक्रबार एक विज्ञप्ति निकाल्दै एनपिएलको पहिलो संस्करणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको, अख्तियारकै पत्रको आधारमा छानविन कार्यदल गठन भएको र कार्यदलले प्रतिवेदन बुझाएको उल्लेख गरेका छन् ।
तर यो विषयलाई ‘अतिरन्जन’ गरेको भन्दै मन्त्रीले दु:ख व्यक्त गरेका छन् ।
साथै मन्त्रीले कार्यदले बुझाएको प्रतिवेदन मन्त्रालयले अध्ययन गर्ने र कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाउने पनि बताएका छन् ।
नेपाल सरकारले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण नियमानुसार आयोजक संस्थाबाटै संचालन हुने अपेक्षा राखेको पनि उनको भनाइ छ । तर एनपिएल रोक्नका लागि आफ्नो संलग्नता भएको भन्ने सामाचार उनले खण्डन गरेका छन् ।
उनले भने, ‘नेपाल प्रिमियर लिगको आगामी संस्करण निरन्तरताकै पक्षमा छानबिन कार्यदलको प्रतिवेदनमा समेत उल्लेख भएको अवस्थामा यस्ता गलत प्रचारले क्रिकेटप्रेमी आम जनसमुदाय, खेलाडी र प्रतिस्पर्धी टीमको मनोबल गिराउने भएकाले त्यस्तो किसिमको भुमिका नखेली दिनु हुन सम्बद्ध सबैमा अनुरोध गर्दछु ।’
बिहीबार ‘नेसनल हाइ पर्फमेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स ल्याब’ उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाल प्रिमियर लिग (एनपीएल) का सन्दर्भमा राजनीति भइरहेको भन्दै प्रतियोगिता नरोकिने बताएका थिए ।


प्रतिक्रिया