बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित



काठमाडौँ । सरकारले पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति बनाएको छ । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः निलम्बन भएका छन् ।

पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति बनेको एक मन्त्रीले जानकारी दिए । समितिका अन्य दुई जना सदस्यमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला छन् ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझामाथि नक्कली डकुमेन्ट पेस गरेर नियुक्ति लिएको आरोपमा छानबनि गर्न समिति बनाइएको हो ।

सरकारले गत फागुन १२ गते ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। पूर्वपत्रकार समेत रहेका उनी प्रतिस्पर्धी पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक दामोदर बसौलालाई पछि पार्दै उनी नियुक्त भएका थिए ।

मन्त्रिपरिषद्ले अध्यक्ष ओझालाई पदमुक्त गर्ने प्रयोजनका लागि छानबिन समिति गठन गरेको हो । ऐनको दफा १२ को उपदफा १ को खण्ड ‘ग’ मा खराब आचरण, कार्यक्षमताको अभाव वा पदीय जिम्मेवारी पालना नगरेको आधारमा अध्यक्ष वा सदस्यलाई नेपाल सरकारले पदमुक्त गर्न सक्ने व्यवस्था छ ।