काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सत्ता सहकार्यको प्रस्ताव गरेका छन् ।
सोमबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेस–एमालेले कोर्स करेक्सन गरेर जान आफूहरू तयार रहेको भन्दै सहकार्यका लागि आग्रह गरेको जसपा नेपालका एक नेताले जानकारी दिए ।
त्यसैगरी कांग्रेस र एमालेले जसपा नेपाललाई भूमि विधेयक पारित गर्नेबारे सकारात्मक बन्न पनि प्रस्ताव गरेका छन् । डेढ घन्टासम्म बालुवाटारमा चलेको बैठकमा प्रधानमन्त्री ओलीले अब विधेयक ढिलो गर्दा नकारात्मक सन्देश जाने भन्दै यादवलाई प्रतिपक्षी भूमिका नखेल्न आग्रह गरेका थिए ।
जवाफमा यादवले अहिले पनि सत्तापक्ष पेलेरै विधेयक लैजाने मनसायमा रहेकाले आफू त्यसका लागि तयार नरहेको बताए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले विभिन्न दलहरूबाट कार्यदल बनाएर सहमति खोज्न प्रस्ताव गर । उनले कांग्रेस एमालेबाट २/२ जना र बाँकी दलबाट एक एक जना राखेर सहमति खोज्न आग्रह गरे । यसमा यादवले भोलिसम्ममा आफ्ना प्रतिनिधिको नाम दिने बताएका छन् ।
यादवले सरकारमा जाने विषयलाई विधेयकसँग जोड्न नहुने भन्दै त्यो अलग्गै विषय भएको बताए । उनले विधेयक पारित गर्न न्यूनतम सहमतिको विन्दु खोज्नुपर्ने बताए ।
यादवले सत्तापक्ष संघदेखि प्रदेशसम्म देखिएका त्रुटि सच्याउन तयार हुनुपर्ने, भूमि विधेयकमा जसपा नेपालले सुरूदेखि उठाउँदै आएका विषय समावेश हुनुपर्ने, सत्ता गठबन्धनभित्रको मुख्य निर्णयमा जसपा नेपालको सहमति र अपनत्व हुनुपर्ने लगायत शर्त राखेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, एमालेका उपमहाचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव सहभागी थिए ।


प्रतिक्रिया