आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । गएराति देशका केही ठाउँमा सामान्य वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै डोटीमा ३५.६ मिलिमिटर पानी परेको छ ।

भेलबाढी आउने गरी कतै पनि ठूलो पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सबै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँहरुमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । कोशी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेश लगायत देशका पहाडी भूभागको थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशको उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।