काठमाडौं । नेपाली कांग्रेसले पार्टीको बागमती प्रदेश संसदीय दलमा देखिएको विवाद मिलाउने जिम्मा केन्द्रीय सदस्य राजेन्द्र केसीलाई दिएको छ ।
काठमाडौं–१०बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीलाई संसदीय दलको विधानअनुसार बागमती प्रदेशको संसदीय दलमा देखिएको विवाद मिलाउने जिम्मेवारी दिइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘संसदीय दलको विधानअनुसार बागमती प्रदेश संसदीय दलमा देखिएको विवाद मिलाउने जिम्मेवारी केन्द्रीय सदस्य राजेन्द्र केसीलाई दिइएको छ,’ मुख्यसचिव पौडेलले भने ।
कांग्रेस संसदीय दलको विधानको दफा २२ को उपदफा २ मा ‘नेतामाथि राखिएको अविश्वास प्रस्तावलाई संसदीय दलको प्रतिनिधि सभाका सम्पूर्ण सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यले समर्थन गरेमा सो प्रस्ताव पारित भएको मानिनेछ । संसदीय दलको सो बैठकमा पार्टीका केन्द्रीय सभापति वा महामन्त्री वा केन्द्रीय समितिले खटाएको कुनै पर्यवेक्षकको उपस्थिति अनिवार्य हुनु पर्नेछ,’ भन्ने व्यवस्था उल्लेख छ । त्यही व्यवस्थाअनुरुप केसीलाई केन्द्रीय समितिका तर्फबाट पर्यवेक्षक पठाइएको हो ।
बागमतीमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा मुख्यमन्त्री छन् । उनलाई संसदीय दलको नेताबाट हटाउन कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका इन्द्र बानियाँको नेतृत्वमा २१ सांसदले हस्ताक्षरसहित शुक्रबार प्रस्ताव दर्ता गराएका छन् ।


प्रतिक्रिया