धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही १५ साउनमा विश्वासको मत लिने भएका छन् । १५ साउनमा बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने भएका हुन् ।
सोमबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकपछि विश्वासको मत लिन मिति तय गरिएको हो ।
दलको बैठकले मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । दलको बैठकले पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीपसमेत जारी गरेको छ ।
२० असारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । पार्टीको संसदीय दलको बैठकले प्रदेशका मुख्यमन्त्री शाहले आफ्ना मन्त्रीलाई बिनाकारण बर्खास्त गरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
सरकार टिकाउन २७ जनाको समर्थन आवश्यक रहेकोमा कांग्रेसका १८ र एमालेका ११ गरी २९ जनाको समर्थन मुख्यमन्त्री शाहलाई यथावत छ ।


प्रतिक्रिया