काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् ।
बुधबार भएको निर्वाचनमा मुख्यमन्त्री बहादुरसिंह लामालाई ८ मतले पराजित गर्दै बानियाँ दलको नेतामा निर्वाचित भएका हुन् । बानियाँले २२ मत प्राप्त गर्दा मुख्यमन्त्री लामाले १४ मत पाए । १ मत भने बदर भएको छ ।
बानियाँ र लामा दुवै पार्टी सभापति शरबहादुर देउवा पक्षका हुन ।
१३ साउन मंगलबार आफूविरूद्ध संसदीय दलमा परेकाे अविश्वासकाे प्रस्तावकाे विपक्षमा १५ मत मात्रै आएपछि उनले दल नेताकाे हैसियत गुमाएका थिए ।
लामाले दलकाे नेताकाे हैसियत गुमाएपछि आज बुधवार दलकाे नेता चयनका लागि निर्वाचन भएकाे हाे । लामा नेतृत्व सरकारका पाँच जना मन्त्रीले राजीनामा दिएर बानियाँलाई साथ दिएका थिए ।
लामा र बानियाँ दाेस्राे पटक दलकाे नेताका लागि निर्वाचन लडेका हुन् । ४ मंसिर २०७९ मा भएकाे प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेश सभाकाे ठूलाे दल नेपाली कांग्रेस संसदीय दलकाे नेताका लागि १३ पुस २०७९ मा भएको निर्वाचनमा लामासँग बानियाँ ५ मतले पराजित भएका थिए । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत मात्रै पाएका थिए ।


प्रतिक्रिया