काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षबाट निष्कासन गरिएको भनाइप्रति रञ्जिता श्रेष्ठले कडा प्रतिक्रिया जनाउँदै आफू नै अध्यक्ष रहेको दाबी गरेकी छन्। नागरिक उन्मुक्ति पार्टीभित्र जारी विवादका क्रममा पार्टीका संस्थापक सदस्यहरूको बैठकले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीको सामान्य सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको छ।
बुधबार सम्पन्न संस्थापक तथा संरक्षक सदस्यहरूको बैठकले श्रेष्ठलाई पार्टीबाट हटाउने निर्णय लिएको हो।
विवाद चर्किरहेका बेला श्रेष्ठले आइतबार पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई सुम्पिएकी थिइन्। त्यसअघि, बहुमत केन्द्रीय सदस्यहरूले शुक्रबार २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएका थिए। त्यसपछि आफू अस्वस्थ रहेको जनाउँदै उनले पोखराका नेता बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाएकी थिइन्।
यद्यपि रञ्जिता श्रेष्ठले आफूलाई गरिएको कारबाहीप्रति आपत्ति जनाएकी छन्। उनले भनिन् ‘नागरिक उन्मुक्तिको अध्यक्ष मै हुँ गएर निर्वाचन आयोगमा बुझ्न सक्नुहुन्छ।
पार्टीको विधानअनुसार आफूले कुनै पनि बैठक नै आह्वान नगरेको भन्दै उनले अहिले पनि आफू पार्टीको अध्यक्षमा कायमै रहेको बताइन् । यता संस्थापकहरूको बैठकले पार्टीको नयाँ अध्यक्ष तोक्ने र निर्वाचन आयोगलाई जानकारी गराउने तयारी गरेको छ।


प्रतिक्रिया