काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा नेपाल क्रिकेट संघ क्यानलाई २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ मुनाफा भएको छ ।
नेपाल प्रिमियर लिग परिचालन परिषद्ले बिहीबार बोर्ड बैठकमा पेस गरेको आय व्यय विवरणअनुसार उक्त रकम बचत गरेको हो ।
एनपीएलको पहिलो संस्करणमा २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ आम्दानी भएको छ । प्रतियोगिता सम्पन्न गर्न २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ खर्च भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
जसबाट बचत रकमको ५० प्रतिशत अर्थात ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ ८ फेन्चाइच टोलीलाई बाडिएको छ । बाँकी ५० प्रतिशतबाट ७० लाख रुपैयाँ प्रदेशलाई बाडिएको छ । बाँकी २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ क्यानको खातामा बचत भएको छ ।
बोर्ड बैठकमा एनपीएलको दोस्रो संस्करण हुनुपर्ने पक्षमा सबैको एकताबद्ध धारणा आएको क्यानका सचिव पारस खड्काले बताए ।
‘केही सदस्यहरुले खर्चको विवरण अझै विस्तृत भयो भने हामीलाई सजिलो हुन्छ भन्ने क्रममा एनपीएल अघि बढ्नुपर्छ । एनपीएल हुनुपर्छ भन्नेमा सबैको एकबद्ध धारणा आएको छ’, उनले भने ।
सचिव खड्काले एनपीएलको पहिलो संस्करणको हिसाबकिताब बोर्ड बैठकमा पेस गरेकाे बताउदै भने, ‘हामीले हिसाबकिताब प्रष्ट राख्यौं । ६–७ महिना लागेको थियो । विभिन्न कारण त्यो राष्टको चर्चाको विषय भयो । नेपाल क्रिकेट संघको स्रोत, आम्दानीदेखि ल्याएर खर्चको सबै विवरण सबै बोर्डलाई पेस गर्नुपर्छ । जुन हामीले पेस पनि गर्यौं ।’


प्रतिक्रिया