तुर्कमेनिस्तान । भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन तुर्कमेनिस्तानको आवाजामा शुरू भएको छ ।
आजदेखि यही २३ गतेसम्म हुने सम्मेलनमा सहभागी देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूलाई तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले उद्घाटनस्थल आवाजामा रहेकाे स्पोर्ट्स कम्प्लेक्समा स्वागत गरेका थिए ।
उद्घाटनसत्रमा सम्बोधन गर्दै महासचिव गुटेरेसले भूपरिवेष्ठित देशहरूले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बजारसम्मको पहुँच बढाउन र भोगिरहेका समस्या समाधान गर्नका लागि आवश्यक सहयोग एवम् समन्वयसहित साझा प्रयास गर्नुपर्नेमा जोड दिए ।
तुर्कमेनिस्तानका राष्ट्रपति बेरदिमुहामेदोभले दक्षिण–दक्षिणको सहकार्यका साथै संसदीय मञ्च, युवा र नागरिक सञ्जालको सक्रियताबाट भूपरिवेष्ठित विकासशील राष्ट्रहरूले भोगिरहेका आर्थिक र सामाजिक समस्याको समाधान गर्नुपर्ने बताए ।
यसैगरी संयुक्त राष्ट्रसङ्घको ७९औं महासभाका अध्यक्ष फिलेमोन युन्जीले पनि उद्घाटनसत्रलाई सम्बोधन गरेका थिए ।
सम्मेलनको ‘प्लेनरी’ सत्र आवाजामा रहेकाे पर्यटकीय भवनमा शुरू भएको छ । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्नु हुने छ । उनले अल्पविकसित देश (एलडीसी) समूहका तर्फबाट समेत सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ ।
यसैगरी सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीहरूसँग भेटवार्ता गर्नु हुने छ ।
समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण विशेषगरी भूपरिवेष्ठित विकासशील देशहरूले अन्तर्राष्ट्रिय व्यापार, ‘कनेक्टिभिटी’ र आर्थिक विकासमा कठिनाइ झेलिरहेको अवस्थामा तुर्कमेनिस्तानमा भइरहेको याे समूहको तेस्रो सम्मेलनलाई महत्त्वका साथ हेरिएको छ ।


प्रतिक्रिया