गौर नरसंहार राजनीतिक मामिला हो तर अनुसन्धान गरे सहयोग गर्छु : उपेन्द्र यादव

गौर नरसंहार राजनीतिक मामिला हो तर अनुसन्धान गरे सहयोग गर्छु : उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर नरसंहारको फेरि अनुसन्धान गरे आफूले निष्पक्ष सहयोग गर्ने बताएका छन् ।

१८ वर्षअघिको गौर नरसंहारको छानबिन अघि बढाउन भन्दै सर्वोच्च अदालतले हिजाे आदेश दिएको थियो । गौर नरसंहारका घाइतेमध्येका एक त्रिभुवन साहलगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले यो फैसला गरेको हो ।

जसपा नेपालका अध्यक्ष यादवले सरकारले अनुसन्धान अघि बढाए आफूले अनुसन्धानमा सहयोग गर्ने बताएका हुन् । उनले अदालतलाई सम्मान गर्ने भन्दै घटना भएको बेलामा पनि सरकारले अनुसन्धान गरी तथ्य बाहिर ल्याइसकेको बताए ।

त्यही बेला नै मुद्दा अघि बढ्नसक्ने अवस्था नरहेको र अहिले आएर पुनः मुद्दा अघि बढाउनु राजनीतिक प्रतिशोध हुनसक्ने अध्यक्ष यादवको तर्क छ । तर अझै पनि फैसलाको पूर्णपाठ नआइकन मुद्दाबारे बोल्नु हतार हुने उनकाे भनाइ छ ।

त्रिभुवन साहले २०८० साल जेठ २१ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

२०६३ साल चैत ७ गते गौरमा रहेको राइसमिल चौरमा फोरम र माओवादीबीच झडप हुँदा २७ जनाको ज्यान गएको थियो । ज्यान गुमाउने सबै माओवादीका कार्यकर्ता थिए ।