विकृति त झनै मौलायो

विकृति त झनै मौलायो



जनताको सेवा गर्ने उद्देश्यले राजनीतिमा समाहित भएको व्यक्तिले निश्चित कालखण्डमा ठूलै त्याग, तपस्या, योगदान र संघर्ष गरेको हुन्छ । त्यस आधारमा उसलाई समाजले सम्मान मात्र गर्दैन, आफ्नो नेता (प्रतिनिधि) को रुपमा स्वीकार गर्दछ । आफ्नो प्रतिनिधि बन्न योग्य र सक्षम बनाएर राज्यका महत्वपूर्ण जिम्मेवारीमा पठाउँछ र लोकहितको अपेक्षा राख्दछ । समाजले बनाइदिएको व्यक्तित्वकै कारण राष्ट्रिय हैसियत प्राप्त हुन्छ । एकाध प्रतिनिधिले मात्र आफ्नो दायित्व र जिम्मेवारी बुझेर तदनुरुप कामा गरेको देखिन्छ । अधिकांश व्यक्तिहरुले सार्वजनिक पदको दुरुपयोग गर्दा जनतालाई निराश र आक्रोसित बनाएको देखिन्छ । काठमाडौंको मेयरको लागि नेपाली कांग्रेसले दिएको उम्मेदवारी आफैमा नराम्रो होइन, थिएन ।

गोरखाबाट काठमाडौंको शंकरदेव क्याम्पसमा पढ्न आएकी, त्यहाँ पनि विद्यार्थी राजनीतिमा सक्रिय भएर काम गर्नुभएकी, गणेशमान सिंहको परिवारले बुहारीको रुपमा भित्र्याएकी महिलालाई उम्मेदवार बनाइएको विषयलाई आम मतदाता, नागरिक समाज तथा सञ्चार क्षेत्रले सहर्ष स्वीकार गर्नुपर्ने हो । तर त्यस्तो देखिएन । नागरिक समाज र सञ्चार क्षेत्र सकरात्मक भएन । नेताहरुको परिवारलाई प्राथमिकता दिएको, चौधौं अधिवेशनमा सभापति शेरबहादुर देउवालाई लगाएको गुणको ऋण तिरेको गठबन्धन भएको अवस्थामा सहजै जितिन्छ भनी परिवारवाद लादेको आरोप लागेको छ । यसले नेपाली नेताहरुको विश्वसनीयतामाथि जनमानसमा व्यापक असन्तोष रहेको नै देखाउँछ । प्रकाशमान सिंहको श्रीमतिलाई मेयर पदमा उठाउनुपर्ने आधार र कारण प्रस्तुत गर्न कांग्रेस पार्टीले पनि सकेको छैन । आफ्नो राजनीतिक भविष्य समाप्त हुन्छ कि भन्ने डरले काठमाडौंका स्थानीय नेता तथा कार्यकर्ताले मुख खोलेका छैनन तर आम मानिसले नाक खुम्च्याएकै देखिन्छ ।

यो समस्या कांग्रेस पार्टीभित्र वा काठमाडौंमा मात्र होइन, देशभर नै रहेको छ । जसको कारण अत्याधिक बाघी उम्मेदवार देखिन्छ । चितवनको भरतपुरमा पुष्पकमल दाहाल पुत्रीलाई स्वीकार गर्न सकिँदैन भन्ने आवाज कांग्रेसको मात्र देखिए पनि भित्रभित्रै माओवादी नेता तथा कार्यकर्ता पनि हराउने अभियानमा छन् भन्ने सुनिन्छ । विराटनगरमा उपेन्द्र यादव पुत्र मोहमा होमिएको गुनासो व्यापक नै छ । अन्य दलका नेता भनाउँदाहरुले आ–आफ्ना नातागोता भाइ भतिजा, सालासालीलाई मात्र अघि सारेका छैनन्, समाजले उठाइदिएको व्यक्तित्वको दुरुपयोग गरी दलको टिकट बिक्री वितरण गरी रकमसमेत असुलेका छन् । मैले यति पैसामा टिकट खरिद गरेको हुँ, फलानोलाई मिलाउन यति खर्च गरे भन्नेहरुको संख्या जिल्ला जिल्लामा ठूलो छ । अर्को मौका आउँदैन भनी ठाउँठाउँमा पार्टीको तर्फबाट उम्मेदवार हुने व्यक्तिहरुसँग जिल्लाको पार्टी नेतृत्वले ठूलै रकम असुलेको गोप्य सूचना व्यापक छ । कारोबारीहरुको चरित्र त अर्कै छ । उम्मेदवार भएपछि पनि यति खर्च मलाई निर्वाचन परिचालनको लागि चाहिन्छ भनी असुल्ने केन्द्रीय स्तरका देखि जिल्ला स्तरका पदाधिकारीहरुको संख्या उल्लेख्य छ । निर्वाचन त पैसा असुल्ने अर्को पेशा र अवसर पो बनेको छ– राजनीति व्यवसायीहरुको ।

ठेकेदारको घरमा बस्ने, तस्करको गाडी चढ्ने, माफियासँग पैसा लिने, मोजमस्ती, रमाइलो र महँगो जीवनशैली अपनाउने नीति नेपाली नेताहरुले लिएको देखिन्छ । त्यही सिकेर, देखेर स्थानीय तहका छोटेमोटेहरुले पनि यो पटक पार्टीको टिकट बेचेर, उम्मेदवारसँग असुलेर राम्रो आयआर्जन गरेका छन् ।

समाज बदल्ने र रुपान्तरण गर्ने विषय अहिले अधिकांशको डायरीमा छैन । कसले कति पैसा खर्च गर्न सक्छ, उठाउन सकिन्छ, सकिँदैन, बोलकबोल मिल्छ मिल्दैन, अपेक्षा गरेअनुसारको खर्च दिन्छ दिँदैन ? यसमा नै आफूलाई समाजको अगुवा भन्न रुचाउनेहरुको ध्यान गएको छ । एउटा खाल खण्डमा गरेको त्याग, संघर्ष र योगदान त आर्थिक संकलनमा गएर अवसान भएको छ । आफ्नो परिवार नातागोता र अनुचरहरु मात्र सीमित भएको छ । दलीय गठबन्धन आफ्नो स्वार्थ पूरा गराउने औजार बनेको छ । खास खास नेताहरुको पद सुरक्षित गर्ने र सधैं निर्णायक भइरनका लागि गठबन्धन रुपी जालसाजी गरिएको छ । यसले आम मानिसलाई बहुदलीय प्रतिस्पर्धात्मक शासन व्यवस्थाको अनुभूति गराउन सकेको छैन ।

हामीले निर्वाचनमार्फत् परिवर्तनको अनुभूति गराउन सकेका छैनौं भन्ने हेक्का नेतृत्व तहले गरेन । सामान्य मानिसले निर्वाचनमा प्रतिस्पर्धा गर्ने अवस्था दिनप्रति दिन कमजोर बन्दैछ । जे जसरी भए पनि पैसा बनाएका मानिसलाई पार्टीमा महत्वपूर्ण स्थान दिने र आफू सुरक्षित हुने सजिलो बाटो नेतृत्वले रोजेको छ । निर्वाचनमा देखिएका विकृति विसंगतिहरुलाई सुधार गर्नेभन्दा अझ बढी खराब बनाउने र गलत प्रवृत्तिलाई प्रोत्साहित गर्ने काम भएको छ । इमान्दार, त्यागी, संघर्षशील र आफ्नो सहकर्मीभन्दा अरु नै पृष्ठभूमिको हात पाखुरा बलियो भएको, दलाल, तस्कर र माफिया नेतृत्व नजिक र प्रिय भएर खटनपटन गर्न लागेको छ । त्यो रोगबाट ‘राजनीति व्यवसाय’ तलदेखि माथिसम्म ग्रस्त भएको छ ।

ठेकेदारको घरमा बस्ने, तस्करको गाडी चढ्ने, माफियासँग पैसा लिने, मोजमस्ती, रमाइलो र महँगो जीवनशैली अपनाउने नीति नेपाली नेताहरुले लिएको देखिन्छ । त्यही सिकेर, देखेर स्थानीय तहका छोटेमोटेहरुले पनि यो पटक पार्टीको टिकट बेचेर, उम्मेदवारसँग असुलेर राम्रो आयआर्जन गरेका छन् । एकाध ठाउँमा पार्टीका इमान्दार, निष्ठावान र असल मानिसलाई दिइएको बाध्यात्मक जिम्मेवारी पनि महँगो बनाइएको छ । जसरी पनि खर्च गर्नुस्, खोज्न्स्, ऋण गर्नुस्, भोलि निर्वाचित भएपछि असुलउपर हुन्छ भन्ने भ्रष्ट शिक्षा र उपदेश दिने काम भएको सुनिन्छ । यसरी कसरी निर्वाचन, पद्धति र राजनीति धानिएला ?