४४ जिल्लामा अलर्ट, अत्यावश्यक नभइ बाहिर ननिस्कन विपद् प्राधिकरणकाे आग्रह

४४ जिल्लामा अलर्ट, अत्यावश्यक नभइ बाहिर ननिस्कन विपद् प्राधिकरणकाे आग्रह



काठमाडौं । देशका केही स्थानमा आज र भोलि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । भारी वर्षा र हिमपात हुने भन्दै सरकारी आधिकारिक निकायले नागरिकलाई सचेत रहन आग्रह गर्दै आएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि ४४ जिल्लामा उच्च सतर्कता अपनाउनु पर्ने र दश जिल्लामा निरन्तर मौसमबारे जानकारी लिएर बस्न आग्रह गरेको हाे ।

सर्तक रहनुपर्ने प्रदेश र जिल्लाहरूमा कोसी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुंगा छन् ।

मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही छन् । वाग्मती प्रदेशका मकवानपुर, चितवन, सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ, नुवाकोट र रसुवामा सतर्क रहनुपर्नेछ ।

गण्डकीमा गोरखा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), मनाङ, मुस्ताङ तथा लुम्बिनी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु र दाङमा सतर्कता अपनाउन प्राधिकरणको आग्रह छ ।

प्राधिकरणले लमजुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जा र तनहुँ जिल्लामा मौसम सम्बन्धी जानकारीसहित अद्यावधिक भएर बस्न भनेको छ ।

सम्भावित वर्षा र हिमपातका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्रमा प्रभाव पर्नसक्ने सम्भावना रहेकोले आवश्यक पूर्वतयारी एवं पूर्वकार्य गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

अत्यन्त जरुरी नभई सकेसम्म यात्रा नगर्न, डुबान हुनेसक्ने बस्तीका बासिन्दाले अग्लो र सुरक्षित स्थानबारे जानकारी लिने र अरुलाई पनि जानकारी दिन तथा आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान प्राधिकरणले भनेको छ ।

“तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहनेछ,” प्राधिकरणले भनेको छ, “पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहनुपर्नेछ,” प्राधिकरणले भनेको छ ।