काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिमविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले १०० रन पूरा गरेका छन् ।
बिहीबार यूएईको दुबईमा जारी खेलमा टस जितेर ब्याटिङ गर्ने आफ्नो निर्णयलाई सही बनाउने प्रयासमा रहेका रोहितले ४७ औँ ओभरमा शतक पूरा गरेको हुन् । यसक्रममा उनले १२६ बलमा पाँच चौका र एक छक्का प्रहार गरे ।
योसँगै रोहित नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई शतक बनाउने पहिलो ब्याटर बनेका छन् । यसअघि, रोहितले सन् २०२२ को मार्चमा त्रिवि क्रिकेट मैदानमै सम्पन्न पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिलो एकदिवसीय शतक बनाएका थिए । उनले पीएनजीविरुद्ध १२६ रन बनाएका थिए । यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट कुनै पनि ब्याटरले बनाएको व्यक्तिगत उच्च स्कोरसमेत हो ।
नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य
नेपालले कप्तान रोहितकुमार पौडेलको शतकमा घरेलु टोली युएईलाई २३४ रनको लक्ष्य दिएको छ । दुबईमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा २३३ रनमा अलआउट भयो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले १०९ रन बनाए । रोहितले १३० बलमा ५ चौका र २ छक्का प्रहार गरे ।
नेपालका ओपनर कुशल भुर्तेल ७ रनमा आउट भए भने भीम सार्कीले पनि ३ रन मात्र जोड्न सके ।
आसिफ शेखले ३५ रन जोड्दा नेपालको इनिङ सम्हालिएको थियो । यस्तै आरिफ शेखले पनि २७ रन जोडेका थिए। दीपेन्द्रसिंह ऐरीले रनआउट हुनुअघि २३ रन जोडे। रोहितले आसिफ (३५ रन), आरिफ (७० रन) र दीपेन्द्रसँग (५४ रन) गरेको साझेदारी महत्वपूर्ण सावित भयो । सोमपालले ६ रन बनाए । अन्तिम ओभरमा एक चौका र एक छक्का प्रहार गरेका करण केसीले ८ बलमा १३ रन बनाए ।
बलिङमा युएईका जाहिद अलीले ४ विके लिए भने जुनइद सिद्धिकीले ३ विकेट हात पारे ।


प्रतिक्रिया