मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध

मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध



मुस्ताङ । मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध भएकाे छ । समुद्री सतहको ४ हजार मिटर उचाइबाट विस्तार गरिएको मुस्ताङ–डोल्पा सडक हिमपातका कारण अवरुद्ध भएको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।

अवरुद्ध मुस्ताङ–डोल्पा सडकको हिउँ पन्छाएर सञ्चालन गर्न आवश्यक पहलका लागि सडक डिभिजन कार्यालय बाग्लुङसँग माग गरिएको वडाध्यक्ष गुरुङले बताए ।

सडक डिभिजन कार्यालय मुस्ताङले मुस्ताङ–डोल्पा सडक अन्तर्गत मुस्ताङको पाक्लिङदेखि साङ्ता गाउँ हुँदै डोल्पा जाने सडक छुकसम्वसम्म विस्तार गरेको थियो ।

हिमपातका कारण मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ साङ्तामा एक हप्तादेखि विद्युत् र इन्टरनेट सेवाका साथै मोबाइल फोन सेवा पनि अवरुद्ध रहेको त्यहाँका वडा सदस्य छिरिङपाल्साङ गुरुङले जानकारी दिए ।

साङ्ता गाउँमा एक वर्षअघि गाउँपालिकाको समन्वयमा १३ घरधुरीलाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सोलार जडान गरी विद्युतीकरण गरेको थियो ।