काठमाडौं । सन् २०२५ मा कृत्रिम बुद्धिमत्ता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रभावले गर्दा झन्डै ५५ हजार मानिसले रोजगारी गुमाएका छन् ।
अमेजन, माइक्रोसफ्ट र सेल्सफोर्सजस्ता ठूला कम्पनीहरूले हजारौं कर्मचारी कटौती गर्दा एआईलाई मुख्य कारण बताएका विश्वको प्रसिद्ध वित्तीय च्यानल सीएनबीसीले जनाएको छ ।
यस वर्ष अमेरिकामा मात्रै ११ लाख ७० हजार रोजगारी कटौती भएको छ । याे सङ्ख्या सन् २०२० को कोभिड–१९ महामारीपछिको सबैभन्दा धेरै हो ।
अमेजनले यस वर्ष आफ्नो इतिहासकै सबैभन्दा ठूलो कर्मचारी कटौती गर्दै १४ हजार कर्पोरेट पद हटाएको छ । अमेजनका प्रमुख कार्यकारी एन्डी जेसीले यसअघि नै एआईले कम्पनीको कार्यबल घटाउने बताइसकेका छन् ।
यस्तै माइक्रोसफ्टले यस वर्ष झन्डै १५ हजार कर्मचारी कटौती गरेको छ । भारतको आईटी सेवा क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेजले झन्डै २० हजार रोजगारी कटौती गरेको छ ।
सेल्सफोर्सले सेप्टेम्बरमा ४ हजार ग्राहक सेवा कर्मचारी हटाउँदै एआईले ५० प्रतिशत काम गर्न सक्ने दाबी गरेको छ । मानव संशाधन प्लेटफर्म वर्कडेले १ हजार ७ सय ५० कर्मचारी हटाउँदा एआईमा लगानी बढाउन यो कदम आवश्यक रहेको बताएको छ ।
म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले नोभेम्बरमा गरेको अध्ययन अनुसार एआई अमेरिकी श्रम बजारको ११ दशमलव ७ प्रतिशत काम गर्न सक्षम भइसकेको छ । यद्यपि कर्मचारी कटौतीका वास्तविक कारण र एआईको भूमिकाबारे विवाद रहेको छ ।


प्रतिक्रिया