आईसीसी विश्वकप क्रिकेट लिग: अमेरिकालाई नेपालले हरायो, कुशल र रोहितको अर्धशतक

आईसीसी विश्वकप क्रिकेट लिग: अमेरिकालाई नेपालले हरायो, कुशल र रोहितको अर्धशतक



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो । अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल ८७ बलमा २ चौका र ३ छक्का सहित ६२ रनमा अविजित रहँदै नेपालको जित पक्का गराए ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो अर्धशतक हो ।

उत्कृष्ट सुरुवात गरेको नेपालका लागि कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६६ रनको साझेदारी गरेका थिए । जुन एकदिवसीय अन्तराष्ट्रियमा नेपालको कीर्तिमानी साझेदारी हो । यस अघि नेपालको उच्च साझेदारी ६१ रन रहेको थियो । आसिफ २३ रनमा आउट भए ।

विनोद भण्डारी ३७ रनमा आउट भए । करण केसी १ रनमा अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्ल १७ तथा कुशल मल्ल १ रनमा आउट भए । अमेरिकाका निसर्ग पटेल र नोस्तुश केन्जिगेले २/२ विकेट लिए । सौरभ नेत्रभाल्करले १ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो । अमेरिकाका लागि मोनान्क पटेलले १०० रनको शतकीय इनिङ्स खेले । यस्तै निसर्ग पटेलले २१ रन जोड्दा करिमा गोरेले १६ रन जोडे ।

संजय कृष्णमुर्थी र नोस्तुश केन्जिगेले समान १३/१३ रन जोडे भने जसकरण मल्होत्राले ११ रन बनाए । अभिषेक पराद्करले अविजित १३ र सौरभ नेत्रभाल्कर ६ रनमा अविजित रहे।

नेपालका सन्दीप लामिछाने, बिक्रम सोब र सुशन भारीले २/२ विकेट लिए । कुशल मल्लको नाममा १ विकेट रह्यो । जितसँगै नेपालले ५ खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।

अमेरिकाले १३ खेलमा १२ अंक जोडेको छ । अमेरिका दोस्रो स्थानमा रहेको छ । सिरिज अन्तर्गत नेपालले अब दोस्रो खेलमा घरेलु टिम ओमानसँग खेल्नेछ । नेपाल र ओमानबीचको खेल भोलि मंगलबार हुनेछ ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित ओमान, स्कटल्याण्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र संयुक्त अरब इमिरेट्स (युएई) गरी सात राष्ट्रबीच खेल भइरहेको छ । सातै राष्ट्रले सन् २०२३ सम्म प्रतिस्पर्धा गर्नेछन् । शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोव ।